२९गते सम्म समानुपातिक बन्दसूचीमाथि दाबी-विरोध गर्न सकिने
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ।
विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्यताका सम्बन्धमा दाबी-विरोधको निवेदन दिन आइतबारदेखि समय दिइएको हो।
उम्मेदवारबारे प्राप्त दाबी-विरोधको छानबिन गरी निर्वाचन आयोगले कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका सचिव एवं समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिए।
समानुपातिकतर्फ सिट प्राप्त गर्न कुनै पनि दलले प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत र प्रदेश सभामा एक दशमलव पाँच प्रतिशत मत अनिवार्य ल्याउनुपर्नेछ। उल्लिखित मत नल्याएमा उक्त दलले समानुपातिकतर्फको सिट प्राप्त गर्न सक्दैन।
‘संसदमा प्रतिनिधित्व गर...