
यसकारण अवज्ञाको भागीदार छ राष्ट्र र राष्ट्रियता नै होमिने ‘महायज्ञ’ समय समीक्षा
समय बाङ्गोटिङ्गो र अस्वाभाविक रूपमा बहिरहेको छ । आफू माओवादी हौँ भन्दै कम्युनिस्टको झन्डा बोकेर हिँडिरहेका हिजोसम्मका ‘कमरेड’ हरू आज काङ्ग्रेसको चारतारे झन्डा बोकेर ‘जय नेपाल’ भन्दै हिँडिरहेका छन् । त्यस्तै केही समयअघिसम्म दुस्मन सत्ताविरुद्ध लड्दा जङ्गलको एउटै ध्वान्द्रोमा रात बिताएका कमरेडहरू ज्यानी दुस्मन बनेर अर्को कमरेडमाथि साङ्घातिक आक्रमणमा उत्रिएका छन् ।
एकातिर दलाल पुँजीवादी सत्ता चुनाव अवज्ञा पोस्टर टाँस्ने क्रान्तिकारीहरूमाथि आक्रमण गरिरहेको छ र अर्कातिर हिजोसम्मका वर्गमित्रहरू नै क्रान्तिकारीमाथि धावा बोलिरहेका छन् र भनिरहेका छन्– कपिलवस्तु आक्रमण त कास्टिङ मात्रै हो, अझै ठोकिन्छ, हानिन्छ । धर्मेन्द्र–सुदर्शनहरूले संसदीय सुधारवादी करार गरेर आफूहरूलाई निष्कासन गर्नु र क्रान्ति अघि बढाउनु विप्लव समूहका लागि असह्य बनेको छ । त्यसैले संसदीय चुनावमा जान नपाएको झोक नेकपा (बहुमत) का...