जीवन यस्तो रोजियो जहाँ मानवलाई जीवनभरी कुनै न कुनै रूपमा सेवा गरिरहने । जीवनमा पुग्नुपर्ने , गर्नुपर्ने, जान्नुपर्ने, विषय, क्षेत्र र स्थान असीमित छन् तर मेरो बाल्यावस्थामा निकै सुनेको, निकै चर्चा र गौरवका साथ लिने नाम जुनी, जन कम्युन, जुनी वस्ती पुग्ने नजिकबाट हेर्ने, त्यो ईतिहासको गौरवगाथा बोकेको सम्भावनाको खानी २८ औं वसन्त कुर्दै १० वर्षे महान जनयुद्धको पुर्व सन्ध्यामा त्यहाँ पुगियो ।
विगतमा धेरै पटक योजना बनाउँदा बनाउँदै विविध कारणले त्यो ठाउँसम्म पुग्न सकिएको थिईन । अहिले पुगियो । वर्षमा मुस्किलले ६ महिना मात्र चल्ने मोटरबाटो, विद्युतको पहुँच नपुगेको, उजाड भिरालो जमिन , गाउँमा उर्जाशिल उमेरका मानिस नभएको, पाटन लेखमा हिउँदमा हुनुपर्ने जति हिउँ नभएको दृश्यहरू अवलोकन गर्दै अगाडि बढियो ।
मेरो मानसपटलमा जुनी नाम, शब्द सँग छुट्टै माया, प्रेम, आस्था, विश्वास रहेको छ । जब मैले आफुले आफु र समाजलाई नजिकबाट चिन्ने, अनुभूति गर्ने र दृष्टिकोण निर्माण गर्ने उमेरमा पुगे । सबैभन्दा कुतुहलताको विषय, प्रसङ्ग, नाम घरिघरि सुन्थे । जुनी कम्युन । सायद जनयुद्धको चरम उत्कर्षको समय, वातावरण, माहोल भएर पनि हुनसक्छ । तर त्यो नाम आजको दिन सम्म पनि मन, मगजमा डेरा जमाएर बसेको छ ।
मलाई चेतनाको मुन्टा, टाउको हुन्छ भन्ने लाग्छ किनकि एक उच्च चिन्तन , सोचले मात्र समुहिकतालाई केन्द्रमा केन्द्रीकृत गर्दै सही गलतको मार्गलाई छुट्टाएर समाजलाई दिशानिर्देश गर्ने बोध राख्दछ ।
आजको दिन सम्म पनि भौतिक संरचना विकासको कहालि लाग्दो अवस्था तर त्यो समयमा पनि त्यो उच्च चेतना, मानवता, समाजवाद, वर्ग प्रतिको शिखर ईमान्दारिता देख्दा मनसपटल खलबलिन्छ । हो त्यहाँ आफ्नै मगर खाम भाषा बोलिन्छ र प्राय सबैले बोल्छन्, आफ्नो भाषा, संस्कृति पुस्तान्तरण गरेको प्रस्टसँग देख्न सकिन्थ्यो ।
तत्कालिन १० बर्षे महान जनयुद्धको समयमा परिवर्तन, समानता, समावेशी, न्याय, स्वतन्त्रता , समताको पक्षमा शंखघोष गर्दा २७ जना शहीदले ज्यानको उत्सर्ग गरेर जुनीलाई सदैव सकरात्मक मार्ग अगाडि बढ्न दिशाबोध गरेको अनुभूति भयो । शहीदको रातो, तातो रगतले लत्पतिको जुनी जनकम्युन आजको यो परिवर्तनको अस्सलि हकदार हो । युग परिवर्तनको उर्जा पनि हो । त्यहाँ पुग्दा शरीरमा तरङ्ग पैदा भएको अनुभूति भयो जस्ले वर्गिय माया, ईमान्दारिता, निरन्तर जनपक्षीय रूपमा जनतासँग जोडिएर बाँचुन्जेल निस्वार्थ महा अभियानमा होमिन हौसला दिईरहेको आभास भईरह्यो ।
हिजो मैले सुने जस्तो त्यहाँ त्यति मानिसहरूको चहलपहल थिएन, हिजो मैले सुनेको त्यो जनसत्ता चलाउने घर आज बुढो भएर चुहिने भएछ । वडा कार्यलयमा परिणत भएछ । गाउँ अति नै शान्त थियो ।
जस्तो युद्ध भन्दा अगाडिको समय जस्तो । भएका मानिस आ —आफ्नै दैनिकीमा व्यस्त थिए तर निकै कोमलताका साथ प्रस्तुत भईरहेका थिए । त्यहाँ जनयुद्धको झल्को दिने, त्यो ईतिहासलाई संरक्षण गर्न सङ्ग्रालय निर्माण गरिएको छ । शहीद पार्क निर्माणधीन अवस्थामा छ । किवी, ओखर, टिमुर खेती गरेर जनजीवन व्यवसायिकता तिर उन्मुख भएको देख्न सकिन्थ्यो । विद्यालय आधारभुत सम्मको कच्ची भवन र धुलाम्मे खेलमैदानमा वालवालिका निकै उत्साह र हर्षका साथ खेलिरहेका थिए । जस्ले मेरो बाल्यकालमा पुर्याईदिए । गाउँमा , विद्यालयमा आउँदो जनयुद्ध दिवसको भव्य तयारी भएको जानकारि पायौ । हामीलाई पनि निम्तो दिनुभयो ।
वालवालिका त्यो उत्सवका लागि निकै भावुक र उर्जाशिल देखिन्थे किनभने त्यो उसको बा, आमा , दिदी , हजुरबाबा, मामा, काकी, फूपू, दाजु भिनाजु र ती हजारौ महान वीर शहीदहरूलाई साक्षी राखेर पुनः ईमान्दारिका साथ आफुलाई कदापि विचलित नहुने प्रण गर्ने दिन पनि थियो ।
कर्णाली प्रदेश सरकारले फाल्गुन १ गते सार्वजनिक विदा दिने घोषणा गरेको थाहा पाएपछि गाउँमा छुट्टै वातावरण छाएको थियो । जनता निकै दुःखको साथ पीडा पोख्दै थिए र भन्दै थिए, ‘त्यो वलिदानको संरक्षण, मर्म हिजोका माआवादीहरू फुटेर हैन फेरि पुनः एकजुट भएर एक ढिक्का भएर सिङ्गो पार्टी भएको हेर्ने रहर छ ।’ बसाई छोटो थियो हामी १ दिन बसेर फर्कियौ …
फर्किदा जाँदा भन्दा बढी प्रश्नचिह्न मनमा अनवरत खेलिरहेका थिए । हिजोको त्यो बलिदान, योगदानको के हामीले साँचो अर्थमा सम्मान गर्न सक्यौ त ? हामीले चलाएको जन कम्युनको विद्यालयमा के विश्वमा सबैसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष विद्यार्थी उत्पादन भईरहेका छन् त ? हिजो आफुले छाक कटाएर हामीलाई, पार्टीलाई माया गर्ने जनतालाई हामीले पेटभरि घरमा बसेर खाना दिने वातावरण सृजना गर्न सक्यौ त ? जनजीवन सहजताका लागि विद्युत , मोटरबाटो, उच्च सेवा सहितको स्वास्थ्य सेवा कहिले सम्म पुर्याउन सकौला ?
त्यहाँ उत्पादन हुँदै गरेका किवी, ओखर , आलु ,अल्लोले के सम्मानजनक बजार मूल्य कहिले पाउलान त ? यी अनेकथरि अनुत्तरित प्रश्नहरू मनमा खेलेपनि एक दृढसङ्कल्प गर्ने सहास जुनी जनकम्युनले थपेको छ । जुनी तिमी प्रति उच्च सम्मान, अगाध माया र केही गर्ने अठोट छ । यो प्रण भयो ।
लेखक अधिकारी :अखिल क्रान्तिकारी का केन्द्रीय सचिवालय सदस्य हुन ।