हराउँदै असारे संस्कृति, दुर्लभ बन्यो बेठी परम्परा
— डि.बि. पराजुली
असार लाग्नासाथ नेपाली गाउँबस्तीमा रोपाइँको चटारो सुरु हुन्थ्यो। खेतका गह्रामा हिलो खेल्दै किसानहरू धान रोप्थे, असारे गीत गुञ्जिन्थे, मादल र झ्यालीको तालमा युवायुवती रमाउँथे। खेतमा रोपाइँ मात्र हुँदैनथ्यो, त्यहाँ श्रम, संस्कार, मनोरञ्जन र सामुदायिक एकताको अनुपम दृश्य देखिन्थ्यो तर आज त्यो दृश्य विस्तारै इतिहास बन्दै गएको छ। खेतहरू बाँझिन थालेका छन्, असारे गीतहरू मोबाइलको प्लेलिस्टमा सीमित भएका छन्, र गाउँको साझा श्रम प्रणाली बेठी दुर्लभ बन्दै गएको छ।
बेठी भनेको गाउँलेहरूबीचको पारस्परिक श्रम आदान–प्रदानको परम्परा थियो। खेतमा सबै मिलेर रोपाइँ गरिदिने, खेतमा सबै पुगेर काम गरिदिने, नगद ज्यालाको आवश्यकता पर्दैनथ्यो।, श्रमको सट्टा श्रम नै विनिमय हुन्थ्यो, रोपाइँ सकिएपछि दही–चिउरा, अचार, तरकारी र स्थानीय परिकारसँगै रमाइलो भोज हुन्थ्यो, असारे गीत, दोहोरी, ठट्टा–व्यङ्ग्य र हिल...









