सुर्खेत : मंगलबहादुर शाही कर्णालीको पाँचौँ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।उनलाई आफ्नो दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ । ४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट आवश्यक पर्छ ।
एमालेको समर्थन पाएका शाही संसदीय राजनीतिमा प्रवेश गरेको ४ वर्षमै मुख्यमन्त्री बन्न सफल भएका छन् ।यसअघि उनी तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री समेत भएका थिए ।
केन्द्रमा माओवादी र नेकपा एकीकृत समाजवादीबिच पार्टी एकता भयो, पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रह्यो । उक्त एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कर्णाली प्रदेश माओवादी संसदीय दलका नेता राजकुमार शर्मा एकता प्रक्रियामा सहभागी भएनन् । गत मंसिर १७ गते दलको नेताबाट राजीनामा दिएका उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागे ।
त्यसपछि माओवादी कर्णाली प्रदेश संसदीय दल नेतृत्वविहीन बन्यो । शर्माको राजीनामापछि दल नेतामा धेरैको आकाङ्क्षा थियो । अन्तिममा माघ ३ गते बसेको दलको बैठकले शाहीलाई नै दल नेतामा चयन ग¥यो । दल नेता बनेको ५ महिनामै कर्णालीको मुख्यमन्त्री बन्ने उनी भाग्यमानी नेता हुन् ।
को हुन् शाही ?
२०२५ साल भदौ १६ गते हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका—६, सोरुकोटमा जन्मिएका शाहीको राजनीति यात्रा तत्कालीन अनेरास्ववियुबाट सुरु भएको हो ।
१ देखि ३ कक्षासम्मको प्राथमिक पढाइ सोरुकोट प्राविमा पढेका शाहीले २०४४ सालमा जुम्लाको चन्दननाथ माध्यामिक विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि २०४४ मै उच्च शिक्षा अध्ययन गर्ने भनेर काठमाडौँ हानिए ।
काठमाडौँको नेपाल ल क्याम्पस भर्ना भए । दुई वर्ष नेपाल ल क्याम्पसमा अध्ययन गरेका उनी त्यही क्रममा नेकपा माले निकट अनेरास्ववियु एकताको पाँचौँमा संगठित भएका थिए ।
साथै, २०४५ सालमा भएको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी भए । २०४६ सालमा अध्ययन सकेर मुगु फर्किसकेपछि उनी शिक्षण पेसामा लागे ।
उनी पार्टी र शिक्षण दुबैतर्फ काम गर्थे । शिक्षक पेसामा रहिरहँदा अनेरास्ववियु एकताको पाँचौँमा आबद्ध रहिरहेका शाहीले चुनौतिकाबिच शिक्षण र राजनीतिलाई सँगसँगै अगाडि बढाएको बताउँछन् ।
२०४६–०४७ सालको जनआन्दोलन पछिको खुला राजनीतिक परिवेशमा फेरि अनेरास्ववियु एकताको छैटौँ राष्ट्रिय सम्मेलन भयो, उनी त्यसमा पनि सक्रिय रुपमा सहभागी भए । पछि सबै मिलेर नेकपा एमाले बन्यो । शाही एमालेको साधारण सदस्यका रूपमा पार्टीमा जोडिए ।
साथै, त्यतिबेलाको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा पनि आबद्ध भएर काम गरे ।
२०४८ र २०५१ सालमा दुवै पटक नेपाली कांग्रेसले चुनाव जित्यो । त्यसपछि नेकपा एमालेमा जोडिएका शिक्षकहरूलाई सरुवा गर्ने, दुःख दिने काम भयो ।
दुई वर्ष अस्थायी र ११ वर्ष स्थायी गरेर १३ वर्ष शिक्षण गरेका उनले मुगुकै १६ वटा विद्यालयमा अध्यापन गराए । ‘६–६ महिनामा हामीलाई काजमा पठाउने, सरुवा गरिदिने काम भयोे,’ उनी सम्झिन्छन् ।
२०५६ सालको चुनावमा हाल नेकपाकै कर्णाली प्रदेश इन्चार्ज रहेका चन्द्रबहादुर शाही एमालेबाट उम्मेदवार थिए । कांग्रेस—एमालेबीच प्रतिस्पर्धा । चुनावमा चन्द्रबहादुर शाही विजयी भए । तर निर्वाचनको प्रक्रियामा झडप भयो । त्यसपछि आफूमाथि ज्यान मार्ने उद्योगको मुद्दा लगाएर ९ दिन हिरासतमा बस्नुपरेको सम्झन्छन्, उनी ।
छुटिसकेपछि आफ्नै दलमा नेताबाट अपमानित हुनुपर्दा उनको मनमा केही बदलाव आयो । उनका चिनजानका केही साथीहरू माओवादीले थालेको जनयुद्धमा भूमिगत भइसकेका थिए । उनीहरूसँग उनको भेट भइरहन्थ्यो । २०५७ सालमातिर पुनः भेट भयो । त्यसपछि उनी जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर जानुपर्छ भन्ने सोचे ।
शिक्षक हुँदा पनि धेरैसँग कुराकानी भइरहने हुन्थ्यो, युद्धकर्मीसँग २०५८ सालको भदौमा शिक्षकको जागिर छाडे । ‘होलटाइमर कार्यकर्ता’को रूपमा जनयुद्धमा सहभागी भए ।
२०५९ सालमा माओवादीको जिल्ला कमिटीको सदस्य बनेका उनीमाथि एकातिर शिक्षक सङ्गठनको जिम्मेवारी पनि थियो भने अर्कातिर पार्टीमा काम गर्नुपर्ने । दुवैतर्फको कुशल जिम्मेवारी निभाएका उनी आफ्नो जिन्दगीलाई नाफाको जिन्दगीका रुपमा व्याख्या गर्छन् ।
उनले युद्धका लडाइँमा समेत भाग लिए । २०५९ सालमा डोल्पामा माझफाल घटनामा ७ जना सहयात्री गुमाएको उनी सम्झिन्छन् । साथै, आफू युद्धमा होमिएपछि परिवारले पाएको दुःख सम्झेर भावुक हुन्छन्, शाही । ‘जतिखेर हामी जनयुद्धमा थियौँ त्यतिखेर मेरो बुबालाई प्रशासनले पक्राउ गर्न भनेर ताकेता गथ्र्यो, बुबा चाहिँ भागेर हिँड्नुपथ्र्यो,’ शाही विगततर्फ फर्किए ।
पछि प्रशासनको अति गरेपछि बुबा भागेर काठमाडौं गएर बस्नुप¥यो ।
थुप्रै पटक तत्कालीन शाही नेपाली सेनाको घेराबाट बचेका उनी भन्छन्, ‘हाम्रो जिन्दगी त नाफाको जिन्दगी हो । हामी मृत्यूलाई जितेर आएको हो, यो देशको राज्यसत्ता बदल्नका लागि ।’
पछि माओवादी शान्ति प्रक्रियामा आयो । २०६४ सालमा पहिलो पटक मुगु जिल्लाको डीसीएसको जिम्मेवारी पाए ।
२०६५ सालमा जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका उनी हाल नेकपाको केन्द्रीय सदस्य छन् ।
विशेष गरेर २०७० सालमा संविधान सभाको निर्वाचन बहिष्कारको प्रक्रियामा थिए उनी । त्यतिखेर वैद्यतिर जोडिएका थिए । संविधान सभाको निर्वाचनको बहिष्कारको प्रक्रियामा उनी १८ दिन हिरासतमा बसेका थिए ।
२०७१ मा उनी पुनः देशमा गणतन्त्र, सङ्घीयताको संस्थागत प्रचण्डको नेतृत्वबाट मात्रै सम्भव छ भन्ने निष्कर्षसहित माओवादीमा फर्किए ।उनी २०७९ सालमा पहिलो पटक निर्वाचन लडेका हुन् । मुगु (ख) बाट पहिलो पटकमै प्रदेश सभा चुनाव जितेका शाही इमानदार नेताका रूपमा चिनिन्छन् ।
आईएलसम्म अध्ययन गरेका उनी पाँच वटा दाजुभाइ र दिदीबहिनीमध्ये जेठा छोरा हुन् ।अहिले दुई छोरा, चार वटा छोरीहरूका बुबा समेत रहेका उनी सङ्घर्षशील नेताका रूपमा चिनिन्छन् ।
