नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनबाट भावी पुस्ताले सिक्नुपर्ने पाठ
डि.बि.पराजुली
एउटा पुरानो भनाइ छ—“ इतिहास विजेताले लेख्छ ” यो भनाइमा केही सत्यता अवश्य छ तर आजको लोकतान्त्रिक युगमा इतिहास केवल विजेताको कथा बन्नु हुँदैन, इतिहास पराजितको पीडा, साधारण नागरिकको संघर्ष, परिवर्तनका सपनाहरू र गल्तीबाट प्राप्त शिक्षाको दस्तावेज पनि बन्नुपर्छ।
यदि इतिहासलाई केवल कसले कसलाई हरायो, कसले कसलाई धोका दियो, कसले कसको अधिकार खोस्यो भन्ने दृष्टिले मात्र पढियो भने इतिहास दोषको अदालत बन्छ तर त्यही इतिहासलाई किन त्यस्तो भयो? कसरी सुधार गर्न सकिन्छ? भविष्यमा त्यस्तो गल्ती दोहोरिन नदिन के सिक्नुपर्छ? भन्ने दृष्टिले पढियो भने इतिहास परिवर्तनको विश्वविद्यालय बन्छ। नेपाल आज त्यही मोडमा उभिएको छ।
नेपालको आधुनिक इतिहास परिवर्तनहरूको श्रृंखला हो। राणा शासनको अन्त्यदेखि प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्था, जनआन्दोलन, सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिय...









