— डि.बि. पराजुली
असार लाग्नासाथ नेपाली गाउँबस्तीमा रोपाइँको चटारो सुरु हुन्थ्यो। खेतका गह्रामा हिलो खेल्दै किसानहरू धान रोप्थे, असारे गीत गुञ्जिन्थे, मादल र झ्यालीको तालमा युवायुवती रमाउँथे। खेतमा रोपाइँ मात्र हुँदैनथ्यो, त्यहाँ श्रम, संस्कार, मनोरञ्जन र सामुदायिक एकताको अनुपम दृश्य देखिन्थ्यो तर आज त्यो दृश्य विस्तारै इतिहास बन्दै गएको छ। खेतहरू बाँझिन थालेका छन्, असारे गीतहरू मोबाइलको प्लेलिस्टमा सीमित भएका छन्, र गाउँको साझा श्रम प्रणाली बेठी दुर्लभ बन्दै गएको छ।
बेठी भनेको गाउँलेहरूबीचको पारस्परिक श्रम आदान–प्रदानको परम्परा थियो। खेतमा सबै मिलेर रोपाइँ गरिदिने, खेतमा सबै पुगेर काम गरिदिने, नगद ज्यालाको आवश्यकता पर्दैनथ्यो।, श्रमको सट्टा श्रम नै विनिमय हुन्थ्यो, रोपाइँ सकिएपछि दही–चिउरा, अचार, तरकारी र स्थानीय परिकारसँगै रमाइलो भोज हुन्थ्यो, असारे गीत, दोहोरी, ठट्टा–व्यङ्ग्य र हिलो खेल्ने परम्पराले दिनभरको थकानलाई उत्सवमा बदलिदिन्थ्यो।
एक समय थियो, असारभर गाउँका डाँडाकाँडा असारे गीतले गुञ्जिन्थे। “असारै महिनामा, हिलो खेल्ने बेलामा ” जस्ता गीतहरू खेतमै जन्मिन्थे र खेतमै गुञ्जिन्थे। अहिले ती गीत सांस्कृतिक कार्यक्रममा मात्र सुनिन थालेका छन्। खेतमा भने ट्र्याक्टरको आवाज बढी सुनिन्छ। बेठी जस्ता परम्परा संस्कृति मात्र होइन, सामाजिक विद्यालय पनि थियो, बेठीले श्रम सिकाउँथ्यो, सहकार्य सिकाउँथ्यो, नयाँ पुस्तालाई कृषि, अनुशासन र सामाजिक उत्तरदायित्वको अभ्यास गराउँथ्यो।
त्यही खेतमा युवायुवतीबीच चिनजान हुन्थ्यो, गाउँका समस्या छलफल हुन्थे, नयाँ सम्बन्धहरू गाँसिन्थे, बेठी वास्तवमा गाउँको सामाजिक विश्वविद्यालय थियो।
गाउँबाट युवाको वैदेशिक रोजगारीतर्फ पलायन, खेतीयोग्य जमिन बाँझो बस्ने क्रम बढ्नु, कृषि मजदुरी पूर्ण रूपमा नगदमा आधारित हुनु,कृषि यान्त्रीकरणको विस्तार,छिमेकीबीचको सामाजिक सम्बन्ध कमजोर बन्दै जानु, सामुदायिक जीवनशैलीको स्थान व्यक्तिवादले लिनु जस्ता कारणले आज हाम्रा संस्कार र परम्पराहरु बिस्तारै लोप हुँदै गएका छन् ।
आज असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ, विभिन्न स्थानमा प्रतीकात्मक रोपाइँ, दही–चिउरा खाने कार्यक्रम र फोटोसेसन हुन्छन् तर प्रश्न उठ्न थालेको छ—के हामीले केवल दिवस बचाएका हौं, कि त्यसको आत्मा पनि जोगाएका छौं? यदि गाउँमा खेत बाँझो छ, किसान निराश छन् र बेठी हराइसकेको छ भने केवल औपचारिक कार्यक्रमले संस्कृति जोगाउन सक्दैन।
बेठीलाई पुरानै स्वरूपमा फर्काउन कठिन भए पनि यसको मूल भावना जोगाउन सकिन्छ। स्थानीय तहले सामूहिक रोपाइँ कार्यक्रमलाई प्रोत्साहन गर्ने, विद्यालयमा असारे संस्कृति र कृषि परम्पराबारे शिक्षण गर्ने,असारे गीत र बेठी परम्पराको अभिलेखीकरण गर्ने,युवालाई कृषि उद्यमसँग जोड्ने,गाउँस्तरमा सामुदायिक श्रम संस्कृतिलाई पुनर्जीवित गर्ने अभियान सञ्चालन गर्ने हो भने यस्ता लोपहुन लागेका परम्परा र संस्कृतिहरुलाई जोगाउन सकिन्छ ।
असारे संस्कृति रोपाइँको संस्कृति मात्र होइन, यो नेपाली समाजको सामूहिकता, सहकार्य, श्रमको सम्मान र सांस्कृतिक पहिचानको जीवित दस्तावेज हो। बेठी परम्परा हराउनु भनेको एउटा श्रम प्रणाली मात्र समाप्त हुनु होइन, गाउँको सामाजिक आत्मीयता, विश्वास र एकताको एउटा महत्वपूर्ण अध्याय समाप्त हुनु पनि हो।
यदि अहिले नै यसको संरक्षणका लागि पहल गरिएन भने भविष्यका पुस्ताले असारे गीत पुस्तकमा पढ्नेछन्, बेठी परम्परा संग्रहालयमा हेर्नेछन्, तर गाउँका खेतमा त्यसको वास्तविक जीवन्तता देख्न पाउने छैनन्। असारको हिलो सुक्नु केवल खेत सुक्नु होइन, हाम्रो सामूहिक संस्कृतिको एउटा महत्वपूर्ण अध्याय ओइलाउँदै जानु पनि हो।
