शहरका घरहरू पारिवारिक निवास कि अनियन्त्रित भाडा व्यवसाय ? — डि.बि.पराजुली
नेपालका अधिकांश शहरी क्षेत्रमा घरधनी र भाडावालाबीचको सम्बन्ध केवल निजी सम्झौतामा सीमित विषय रहेन । आज यो विषय शहरी व्यवस्थापन, वातावरण, सार्वजनिक स्वास्थ्य, पूर्वाधार क्षमता र कानुनी शासनसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय सरोकारको विषय बनेको छ । विशेषगरी काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरूमा मूलतः परिवार बसोबासका लागि निर्माण गरिएका घरहरूलाई ठूलो संख्यामा भाडामा लगाउने प्रवृति तीव्र रूपमा बढिरहेको छ । यसले विद्युत, खानेपानी, ढल निकास, पार्किङ तथा वातावरणीय व्यवस्थापनमा गम्भीर दबाब सिर्जना गरिरहेको छ ।
नेपालको संविधान २०७२ को धारा २५ ले प्रत्येक नागरिकलाई सम्पत्तिको हक सुनिश्चित गरेको छ । उक्त धाराअनुसार कानुनबमोजिम प्राप्त गरेको सम्पत्तिको उपभोग, बिक्री, व्यवस्थापन तथा अन्य उपयुक्त प्रयोग गर्ने अधिकार नागरिकलाई प्रदान गरिएको छ । यस संवैधानिक व्यवस्थाको आधारमा हेर्दा, व्यक्तिले आफ्नै स...









