संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवका लागि रोष्टर आह्वान गरेपछि उनले आफ्नो उम्मेदवारी दर्ता गराए। तर उनको उम्मेदवारी केवल एउटा पद प्राप्त गर्ने प्रयास मात्र होइन, पशुपति क्षेत्रलाई नयाँ ढंगले हेर्ने एउटा संकल्पका रूपमा प्रस्तुत भएको छ।
काभ्रेको खोपासीस्थित ऐतिहासिक श्री नरसिंह मठमा आयोजित धार्मिक अनुष्ठानका क्रममा बोल्दै हुमागाईंले भनेका थिए, “पशुपति केवल एउटा मन्दिर होइन, यो नेपालको आत्मा हो। यसको नेतृत्व पनि त्यही भावना बोकेको व्यक्तिले गर्नुपर्छ।”
उनले आफूलाई अवसर मिले कोषबाट कुनै तलब, भत्ता वा गाडी सुविधा नलिने घोषणा गरेका छन्। उनका अनुसार सेवा नै सबैभन्दा ठूलो प्राप्ति हो।
हुमागाईंले विगतमा विश्वकै अग्लो त्रिशूल निर्माणदेखि राष्ट्रिय कोटिहोमसम्मका अभियान सञ्चालन गरेका थिए। देशका विभिन्न भूगोलबाट भक्तजनलाई एउटै आध्यात्मिक सूत्रमा बाँध्ने प्रयास गरेका उनी अहिले पशुपति क्षेत्रको व्यवस्थापनमा पनि त्यही ऊर्जा र दृष्टि आवश्यक रहेको बताउँछन्।
उनको सपना केवल भवन बनाउने वा संरचना मर्मत गर्नेमा सीमित छैन। उनी पशुपतिलाई भ्रष्टाचारमुक्त, पारदर्शी र सेवामुखी धार्मिक केन्द्रका रूपमा विकास गर्न चाहन्छन्। उनी चाहन्छन् – भेटी चढाउने भक्तले आफ्नो पैसा कहाँ खर्च भयो भन्ने थाहा पाओस्। दर्शनका लागि लाइनमा बसेको भक्तले सम्मानित महसुस गरोस्। पशुपतिमा आउने गरिब, असहाय र दुःखी मानिसले मन्दिरको आँगनबाट आशा लिएर फर्कियोस्।
उनको योजनामा जीर्ण बनेका मठ–मन्दिरको पुनर्जीवन छ, बन्द रहेका धर्मशालाको पुनः सञ्चालन छ, विपन्नका लागि निःशुल्क शवदाह सेवा छ, वेद अध्ययन गर्ने बटुकहरूको भविष्य छ, र पशुपति क्षेत्रका गाई, नन्दी, बाँदर तथा मृगहरूको संरक्षणसमेत छ।
हुमागाईंको विश्वास छ – यदि पशुपति व्यवस्थित भयो भने त्यो केवल एउटा मन्दिरको सुधार हुनेछैन, त्यो नेपालकै धार्मिक र सांस्कृतिक प्रतिष्ठाको पुनर्जागरण हुनेछ।
उनले अघि सारेको नारा पनि त्यही सपना बोकेको छ – “सदाचार, सेवा र सनातन संस्कृतिको संरक्षण–समृद्ध पशुपति, गौरवशाली नेपाल।”
अब निर्णय सरकारको हातमा छ। तर हुमागाईंको यो संकल्पले एउटा प्रश्न भने अवश्य उठाएको छ – के साँच्चै पशुपतिलाई सेवा गर्ने नेतृत्वको आवश्यकता आज सबैभन्दा बढी छैन र ?


