आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो
काठमाडौं । टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरूको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ ।
साथै, कम्पनीहरूको भविष्यसमेत सुखद नदेखिएको जानकारहरू बताउँछन् ।
कुनै समय कुल आम्दानीको झण्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरूले अहिले उक्त खर्चलाई १० प्रतिशतको हाराहारीमा सीमित गरेका छन् ।
ओभर द टप (ओटीटी) प्लेटफर्मलगायतका कारणले घट्दो आम्दानी, आवश्यक कानुनमा संशोधन नहुनु, चर्को नवीकरण शुल्क र सञ्चालनमा सहजीकरण नहुँदा टेलिकमले पूर्वाधारमा आवश्यक लगानी गर्न हिचकिचाइरहेको टेलिकम क्षेत्रका विज्ञहरूको बुझाइ छ ।
तथ्याङ्क हेर्दा टेलिकम कम्पनीहरूले सन् २००८ देखि २०१६ सम्मको अ...









