काठमाडौं । चर्चिच नेवाःअभियन्ता सुमन सायमी नेवाः राष्ट्रिय परिषदको संयोजकको जिम्मेवारीमा चुनिनुभएको छ । आज काठमाडौंको कालिमाटी स्थित दस रिसेप्सन एण्ड भेन्युमा नेवाः हरुको सत्ता अभ्यासको निम्ति नेवाः राष्ट्रिय परिषदको गठन गर्दै सायमीलाई संयोजकमा चुनिएको हो ।
नेपाः मण्डलका चर्चित नेता सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरिएको छ । अन्य सचिवालय सदस्यहरुमा रबिन्द्र कुमार श्रेष्ठ, बिकास बाबू श्रेष्ठ, शिव भक्त रंजित, कृष्ण मानन्धर, जिवपती श्रेष्ठ, इन्द्र प्रसाद श्रेष्ठ, सिवेश बज्राचार्य, कुमार श्रेष्ठ, अनित रंजितकार, अनु सायमी, रिना प्रधान, बेबि राजभण्डारी रहेका छन ।
गठन पश्चात प्रेस विज्ञप्ति जारि गर्दै परिषदले “नेवाः सभ्यता विश्व कै प्राचिनतम सभ्यताहरु मध्येको एक हो । वर्तमानको कतिपय समृद्ध मुलुकहरु पत्ता नलाग्दै नेवास् हरुले चीन, मंगोलिया, कोरिया, जापान तथा तिब्वतलाई आफ्नो समृद्ध ज्ञान परम्पराले प्रभावित पारिसकेको थियो । नेवाः सभ्यताले स्वनिगः (येँ, यलः ख्वप, भोंत, पलाँती, धौख्य, दोलखा, तिस्तुङ, पालुङ, नक्वाः) लगायतमा शैव, वौद्व, शाक्त, वैष्णव लगायतका सभ्यतालाई स्वदेशीकरण गर्ने र आफुमा समाहित गर्दै समृद्ध सभ्यता बिकास गर्न सफल भएका थिए। विभिन्न गुठिहरुको माध्यमबाट स्वशासित समृद्ध नेवाः सभ्यता पछिल्लो २७० वर्षको औपनिवेशिकताले आज समाप्तिको संघारमा उभिएको छ । आज नेवाः आफ्नै स्वदेशबाट बिस्थापित हुदैछ । नेवाः लगायत ऐतिहासिक राष्ट्रियताहरु माथी ईतिहास देखि कायम रहेको औपनिवेशिकताबाट मुक्त गरेर सार्वभौमिकताको अभ्यास गर्ने नेवाः राष्ट्रिय परिषदको मुख्य राजनितिक कार्यभार रहनेछ ” भनेको छ ।
विज्ञप्तिमा “ गोर्खाली सत्तामा राजाहरुको शासन केवल वंशको निम्ति, राणाहरुको शासन जहानको निम्ति, प्रजातन्त्र देखि गणतन्त्र सम्मको शासन केवल एउटा नश्लको निम्तिमात्र आत्मगौरव सत्ता बनाइयो । विगत देखि कायम औपनिवेशिकता मार्फत राज्यविहिन तुल्याएका नेवाः लगायत स्वदेशी राष्ट्रहरुको आत्मसम्मान जगाउन भाषा, धर्म, संस्कृती, भुमी, सम्पदा लगायत माथी भै रहेको अतिक्रमण विरुद्ध आवाज बुलन्द गर्दै, नेपाः मण्डलका सवै जनतालाई स्वशासित गर्न विधिशास्त्र, न्यायशास्त्रको जगमा टेकी अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुन अनुसार सबै राष्ट्रियताहरुलाई साक्षी राखि नेवाः राष्ट्रिय परिषदले छिट्टै नेवाः स्वशासन विधान घोषणा गर्नेछ । ” भनिएको छ ।
विज्ञप्तिको अन्त्यमा “ नेवाः राष्ट्रको जरा मजबुत बनाउन आयातित र औपनिवेशिक माक्र्सवाद र पुजिवाद ज्ञानसत्ता आवश्यकता छैन बरु नेवाः लगायत स्वदेशी राष्ट्रहरु आफै ज्ञानको सागर भएकाले प्रथम राष्ट्रहरुको स्वदेशवाद नै आफ्नो जरा मजबुत बनाउने वैचारिक आधार हो। यहि आधारमा औपनिवेशिक एकल राष्ट्रिय राज्य नभई नयाँ नेपाल, साझा नेपालको परिकल्पना गरिनेछ । हाम्रा पिता पुर्खाहरुले हजारौं वर्ष देखि उत्पादन गरेको ज्ञानको आधारमा समाज व्यवस्था गरिनेछ । नेवाःहरुको संस्कृति, सभ्यता, दर्शन को रक्षा गर्दै गुठीका नायः द्वारा हुदै आएको समाज व्यवस्थालाई थप सशक्त र परिस्कृत गर्दै अगाडि बढनेछौं । यसर्थ, यस महान अभियानमा सरिक हुन न्यायप्रेमी नेवाः राष्ट्रियताका जनतालाई हार्दिक आव्हान गर्दछौं । जय नेपाः मण्डल । जय स्वदेशवाद ।” भनिएको छ ।