भूमि विधेयकमा पछि हट्यो एमाले, छलफलका लागि संसदीय समितिमा पठाइने
काठमाडौं । भूमिसम्बन्धी विधेयक अन्तत: छलफलका लागि समितिमा पठाइने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाको आजको बैठकबाट भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक समितिमा पठाउने प्रस्ताव पेस गर्न लागेका हुन्।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दलहरूबीचको सहमतिमै विधेयक समितिमा पठाउन लागिएको बताए।
यसअघि एमालेले प्रतिनिधि सभाको पूर्ण बैठकबाटै विधेयक पारित गर्नुपर्ने अडान लिएको थियो। तर सत्ता साझेदार नेपाली कांग्रेसले विधेयकलाई समितिमा पठाएर छलफल गर्नुपर्ने अडान राखेको थियो।
असार २५ गते समितिको पूर्ण बैठकबाटै पारित गर्ने गरी विधेयक सम्भावित कार्यसूचीमा समेटिएको थियो। तर विधेयकमा संशोधन दर्ता गराएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सहितका सांसदहरूले विधेयक समितिमा पठाउनुपर्ने अडान लिएका थिए।
...









