काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम चलि रहँदा जेन जी आन्दोलनमा घाईते भएका हरुले भने आन्दोलनलाई हाईज्याक गरेर एउटा स्वार्थ समुहले आफ्नो पोल्टामा लगेको भन्दै पत्रकार सम्मेलन गरिरहेको थियो ।
आन्दोलनका क्रममा गोली लागेर घाइते भएका शाहिल अहमदले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनलाई हाईज्याक गरेर सरकार बनाउने ठेक्का पट्टाको रुपमा लगिएको आरोप लगाएका हुन्. ।
वास्तविक जेन जी हरु अस्पतालको बेडमा छटपटाई रहेको अवस्थामा त्यो समुहलाई वेवास्ता गर्दै सरकार गठनहुनु आफैंमा हास्यासपद र नियोजित भएकोले जेनजी समुहलाई सरकारमा सामेल नगराए यो सरकार आफुहरुलाई मान्य नहुने उनले बताएका छन् ।
उनले जेन–जी आन्दोलनका घाइतेहरुले जेन–जी पुस्ताबाट मन्त्रिपरिषदमा ४० प्रतिशत सहभागी नगराए सरकार मान्य नहुने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले ४० प्रतिशत जेन–जीबाट र ६० प्रतिशत निष्कलङ्क विज्ञहरुबाट सरकारमा सहभागिता गराइनुपर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अहमदले राज्यले आन्दोलनका क्रममा सहिद भएकाहरुको परिवारलाई ५० लाख र घाइते परिवारलाई २५ लाख क्षतिपूर्ति दिनुपर्ने बताए ।
त्यस्तै संघीयता खारेजी, संविधान पुनर्लेखन, स्थानीय निकायलाई घटाएर ५ सयमा झार्ने, प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री, २०४६ सालपछिका नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी कानूनी कारबाही साथै सम्पत्ति राष्ट्रियकरण गर्ने आफूहरुको माग रहेको पनि उनले बताए ।
अहमदले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याउनेलाई खोजी–खोजी कारबाही हुनुपर्ने र भ्रष्टाचारीहरुलाई फाँसीको व्यवस्था गरिनुपर्ने पनि माग गरे ।
अर्का घाइते रामेछापका दीपक तामाङ थिङले आफूहरुले गरेको जेन–जी आन्दोलन हाइज्याक भएको बताए । सुधन गुरुङ, निमेश श्रेष्ठलगायतका अभियन्ताहरुले घाइते र मृतकका परिवारसँग सल्लाह नै नगरी अगाडि बढेको उनले बताए ।
‘जेन–जी आन्दोलनमा होमिँदै गर्दाखेरी देशको परिवर्तनका लागि लड्नुपर्छ भनेर हामी अगाडि बढ्यौं । तर, आज कोही व्यक्तिसमेत भेट्न आएका छैनन् । हामीले मन्त्रीको भागबण्डाका लागि लडेका होइनौं ।
भ्रष्टाचारीको विरुद्ध लडेका थियौं, जनताबाट चुनिने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्छ भनेर लडेका थियौं । त्यो विरुद्ध आज साथीहरुले प्रतिनिधिसभाको चुनाव हुनुपर्छ भनेर फेरि पनि फागुन २१ गते भन्ने कुरा सुनेको छु,’– उनले भने ।