काठमाडौं ;सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक (मेटा) ले नेपालमा कम्पनी दर्ता गर्न आवश्यक कागजातको विवरण मागेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत जानकारी मागेका थिए।
ठाकुरले भने ‘पौने ५ बजे सिंगापुबाट एक जना मेटाका प्रतिनिधिले इमेल पठाउनुभयो हामीले पाँच मिनेटभित्रै सामाजिक सञ्जाल दर्ता हुन आवश्यक कागजातको विवरण इमेलमार्फत जानकारी गराइसकेका छौं।’
नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्ने निर्णय गरिसकेको छ। यसैअनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल चल्न रोक लगाउन पत्राचार गरेको छ।