कहिले सत्रुता कहिले मित्रता जाजरकोटमा : शक्ति ,निरज र नर…??
जाजरकोट । अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहयोगी बनेका जाजरकोटका नेताहरू आसन्न निर्वाचनमा आमनेसामने भएका छन् । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन भएपछि माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले टिकट पाएका थिए । अहिले पनि गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उनी नै उम्मेदवार छन् । तर उनलाई २०७४ को निर्वाचनमा सघाएका एमालेका निरज आचार्य र बस्नेतका प्रशिक्षक स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की अहिले उनीसँगै भिडिरहेका छन् ।
आचार्यले गत निर्वाचनमा बस्नेतलाई टिकट छोडेका थिए । कार्की पनि एक समय माओवादी निकट मानिन्थे । एमालेका आचार्य र स्वतन्त्र उम्मेदवार कार्की दुवै जनाले गत निर्वाचनमा कांग्रेसका राजीवविक्रम शाहविरुद्ध बस्नेतलाई विजय गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । तत्कालीन वाम गठबन्धन भएपछि कार्की विप्लव नेतृत्वको नेकपा हुँदै स्वतन्त्र उम्मेदवार भएका हुन् ।
...