२३ भाद्र २०८१, आईतवार

कहिले सत्रुता कहिले मित्रता जाजरकोटमा : शक्ति ,निरज र नर…??

जाजरकोट । अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहयोगी बनेका जाजरकोटका नेताहरू आसन्न निर्वाचनमा आमनेसामने भएका छन् । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन भएपछि माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले टिकट पाएका थिए । अहिले पनि गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उनी नै उम्मेदवार छन् । तर उनलाई २०७४ को निर्वाचनमा सघाएका एमालेका निरज आचार्य र बस्नेतका प्रशिक्षक स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की अहिले उनीसँगै भिडिरहेका छन् ।

आचार्यले गत निर्वाचनमा बस्नेतलाई टिकट छोडेका थिए । कार्की पनि एक समय माओवादी निकट मानिन्थे । एमालेका आचार्य र स्वतन्त्र उम्मेदवार कार्की दुवै जनाले गत निर्वाचनमा कांग्रेसका राजीवविक्रम शाहविरुद्ध बस्नेतलाई विजय गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । तत्कालीन वाम गठबन्धन भएपछि कार्की विप्लव नेतृत्वको नेकपा हुँदै स्वतन्त्र उम्मेदवार भएका हुन् ।

उम्मेदवारीको हिसाबले भने आचार्य र कार्की दुवै नयाँ अनुहार हुन् । बस्नेत भने २०७० सालमा माओवादीबाट एक्लै र २०७४ मा एमालेसँगको वाम गठबन्धनबाट चुनाव जितेका थिए । यसअघिका दुई जना सारथी आचार्य र कार्की अहिले प्रतिस्पर्धी छन् भने बस्नेतले कांग्रेसको साथ पाएका छन् । स्वास्थ्य, गृह, र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका बस्नेत माओवादीका प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।

पहिलो संविधानसभामा जाजरकोटका दुवै क्षेत्र जितेको माओवादीले दोस्रोमा एउटा जित्यो र अर्को गुमायो । २०७४ मा एउटा मात्र क्षेत्र कायम भएपछि तेस्रो दलमा झरेको माओवादी जाजरकोटमा संकटमा देखिएको थियो । तर एमालेको बलमा बस्नेत अघिल्लो निर्वाचनमा सांसद चुनिए । यसपटक भने उनलाई कांग्रेससहितको सत्ता गठबन्धनको भर छ । गठबन्धनमा माओवादीसँगै कांग्रेसको पनि उम्मेदवारी दाबी थियो ।

अघिल्लो चुनावमा शक्तिसँग प्रतिस्पर्धा गरेका राजीवविक्रम शाह कांग्रेसका सम्भावित उम्मेदवार थिए । तर बस्नेतले शाहलाई प्रदेशमा झर्न सहमत गराए । अघिल्लो चुनावमा प्रतिस्पर्धी रहेका शाह भने यसपालि बस्नेतकै सारथी छन् भने उनी क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् । शाह र कांग्रेस जिल्ला सभापति वेदराज सिंह दुवै जना वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भएकाले पनि शक्तिलाई चुनाव जित्न सहज हुने अनुमान गरिएको स्थानीय अगुवा कमल शर्माले बताए । उनका अनुसार बस्नेत तेस्रोपटक चुनाव जितेर प्रतिनिधिसभामा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।

तर गत स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका कांग्रेस र माओवादीले बारेकोट, जुनीचादे र भेरी नगरपालिकामा चुनाव जित्न सकेनन् । सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले जित निकाल्यो । त्यसैले पनि बस्नेतलाई चुनौती देखिएको छ । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा माओवादीले जित्यो । क्षेत्र नम्बर–१ बाट कालीबहादुर मल्ल र २ बाट भक्तबहादुर शाह विजयी भए । २०७० को क्षेत्र नं. १ बाट माओवादीका उनै बस्नेत र २ बाट कांग्रेसका राजीवविक्रम विजयी भएका थिए ।

०७४ मा एमालेसँगको गठबन्धनमा प्रतिनिधिसभा निर्वाचनको एउटै क्षेत्र हुँदा बस्नेत ३२ हजार २ सय ८१ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका शाहले २३ हजार २ सय ८९ मत पाएका थिए । यो पटक भने स्वतन्त्र उम्मेदवार नरबहादुरले पश्चिम भेगको नाराले युवाहरूलाई आकर्षित गरी प्रमुख दलका उम्मेदवारलाई दबाबमा राखेका छन् । उनले कांग्रेसका साथै एमालेको पनि भोट काट्ने देखिएको शर्मा बताउँछन् ।

बस्नेतले भने यसपालि पनि आफूले जित्ने दाबी गरे । ‘प्रदेश दुवै कांग्रेसले पाएको छ, संघ माओवादीले पाएको छ,’ उनले भने, ‘त्यसैले पनि गठबन्धनमा भोट माग्न र जित्न सजिलो छ ।’ एमाले उम्मेदवार आचार्यले भने बस्नेतले कांग्रेसको सबै भोट नपाउने र नरबहादुरले पनि केही भोट काट्दा आफ्नो दलको उम्मेदवारले जित्ने दाबी गरे ।

स्वतन्त्र उम्मेदवार कार्कीले दलहरू ‘टेस्टेड’ भइसकेकाले आफ्नो जित सुनिश्चित भएको बताए । सकारात्मक सोच र जीवन रूपान्तरणका प्रशिक्षक कार्की संयुक्त राष्ट्रसंघअन्तर्गत युनिसेफका लागि अफ्रिकी मुलुक सिरालियोनमा डेढ वर्ष लामो परामर्श विज्ञको जागिरलाई छोड्दै चुनावमा होमिन नेपाल फर्किएका हुन् । उनले संयुक्त राष्ट्रसंघका लागि अफगानिस्तान, बंगलादेश, इराकलगायत देशमा प्रशिक्षकको काम गरिसकेका छन् । उनले जिल्लाको विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।