११ श्रावण २०८१, शनिबार

अमेरिकी राजदूत थम्पसन र प्रचण्ड बीच भेटवार्ता : नेपाली राजनीति र आर्थिक विकासबारे छलफल

१५ कार्तिक  ललितपुर : नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्। खुमलटार निवासमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए। उनले भने ,‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ। तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु।’ उनले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बता‍उँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताए।

राजदूत आर. थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको धारणा राखे। उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरुको सहयोग निरन्तर रहने विश्वास दिलाए। राजदूत थम्पसनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गरे।