११ श्रावण २०८१, शनिबार

अर्थमन्त्री जनार्दन शर्मा चाैथाे जितको खोजीमा…?

             १५ कार्तिक काठमाडौं । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा चौथोपटक चुनावी दौडमा छन् । ०६४, ०७० र ०७४ को निर्वाचनमा रुकुम पश्चिम (तत्कालीन रुकुम)बाट विजयी भएका उनी चौथो जित निकाल्ने योजनासहित प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

शर्मालाई कांग्रेस र एकीकृत समाजवादीको पनि साथ छ । तर, कांग्रेस केन्द्रको निर्णयविपरीत तारक केसी बागी उम्मेदवार बनेका छन् । केसी बागी हुँदा गठबन्धनको मत काटिने र त्यसको फाइदा एमाले उम्मेदवार नन्दराम देवकोटाले उठाउन सक्ने आकलन पनि गरिएको छ । कांग्रेसका केही नेता खुलेरै बागीको पक्षमा लागेका छन् ।

कांग्रेसले भने केसीलाई कारबाही गरिसकेको छ । कांग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीका अनुसार केसीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र कांग्रेस केन्द्रीय कार्यालयबाट २५ असोजमा प्राप्त भइसहकेको छ ।

माओवादी जिल्ला अध्यक्ष गोविन्द रोका ‘सचिन’ भने कांग्रेस, एकीकृत समाजवादीको सबै मत आउने दाबी गर्छन् । ‘गठबन्धन भएपछि सबै मत आउनेमा ढुक्क छौँ, राजनीतिक इमानदारिताको कुरा पनि हो,’ उनले भने, ‘नेतृत्व तहमा कुनै समस्या छैन, जिल्लामा भएका केही असमझदारी हल गर्ने प्रयासमा छौँ । बागीले केही फरक पर्दैन ।’

एमाले उम्मेदवार देवकोटा भने गठबन्धनमा सहमति नभएकाले त्यसको फाइदा आफूहरूले लिने दाबी गरिरहेका छन् । ‘गठबन्धनमा नै सहमति छैन, यसको फाइदा हामी लिन्छौँ । माओवादी, कांग्रेसको विकल्प खोजिरहेको मत पनि हामीलाई आउँछ,’ उनले भने । साबिकको रुकुम अहिले दुई भागमा विभाजित छ । शर्मा, देवकोटा, केसीलगायत उम्मेदवार बनेको क्षेत्र रुकुम पश्चिम हो ।

कुन दलको हैसियत कति ?

०६४ यताका हरेक निर्वाचनको मतपरिणाम विश्लेषण गर्दा यहाँ माओवादी पहिलो देखिन्छ । रुकुम पश्चिममा माओवादीको प्रतिस्पर्धी कांग्रेस हो । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता शर्माले कांग्रेसका प्रेमप्रकाश ओलीलाई हराएका थिए । ०७० को दोस्रो संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनका मुख्य प्रतिस्पर्धी गोपालजीजंग शाह रहे । यहाँसम्म आइपुग्दा शर्माले ह्याट्रिक गरिसकेका छन् । ०७४ को चुनावमा एमालेको पनि साथ पाएका शर्मा १८ हजार सात सय ४३ मतान्तरले विजयी भएका थिए । शर्माले ३४ हजार ४०२ मत पाउँदा प्रतिस्पर्धी शाहले १५ हजार ६ सय ५९ मतमा चित्त बुझाएका थिए ।

गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीबीच गठबन्धन भए पनि रुकुम पश्चिममा गठबन्धनका दलबीच नै प्रतिस्पर्धा भएको थियो । कांग्रेसले केही ठाउँमा एमालेसँग अघोषित तालमेल गर्दा माओवादीले जनाधार कम रहेका क्षेत्रमा एकीकृत समाजवादीसँग सहकार्य गरेको थियो ।
६ वटा स्थानीय तहमध्येमा मुसिकोट नगरपालिका र बाँफीकोट गाउँपालिका प्रमुख कांग्रेसले जित्दा बाँकी चार पालिका चौरजहारी नगरपालिका तथा सानीभेरी, त्रिवेणी र बाँफीकोट गाउँपालिकामा माओवादी विजयी भएको थियो ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा माओवादीसँग ३६ हजार दुई सय ९० मत छ भने कांग्रेसको मत २६ हजार ६ सय १९ मत रहेको देखिन्छ । एमालेले ६ हजार ९१ मत पाउँदा राप्रपाको मत एक सय आठ मत छ । एकीकृत समाजवादीको मत एक सय ३० मात्र छ । यसरी जिल्लामा गठबन्धनको कुल मत ६३ हजार ३९ पुग्दा एमालेको मत ६ हजार ९१ मात्र छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिममा एक लाख चार हजार दुई सय ८० मतदाता कायम भएका छन् ।

विकासलाई पूर्णता दिन्छौँ : गठबन्धन  

वाम–लोकतान्त्रिक गठबन्धनबाट जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारले प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् । ०६४ पछि जिल्लामा माओवादीको नेतृत्वमा विकासको जग बसालेको र अब विकासलाई पूर्णता दिने प्रतिबद्धता जनाइएको छ ।

शर्माले प्रतिबद्धतापत्र सावर्जनिक गर्दै ०६४ पछि जिल्लामा भएको समग्र विकास र अबको पाँच वर्षमा गर्ने कामसहितको प्रतिबद्धता जनाएका हुन् । ‘पहिलो कार्यकाल ०६४ मा शान्ति प्रक्रिया स्थापितमा, संविधानमा जनअधिकार उल्लेख गर्न सडक र सदन संघर्षका साथ विकासका आफ्नै मौलिक तय गर्नमै बित्यो, दोस्रो कार्यकाल ०७० मा सडक, विद्युत्लगायत पूर्वाधार विकास र संविधान निर्माणमा बित्यो, तेस्रो कार्यकाल ०७४ समग्र पूर्वाधार विकास, उत्पादन र सम्भावनाको आधार तयार गर्न बित्यो,’ शर्माले भनेका छन् ।

आसन्न निर्वाचनमार्फत विजयी भएमा गुणात्मक पूर्वाधार, रोजगारी सिर्जना र गरिबी अन्त्यका लागि कृषिको आधुनिकीकरण एवं औद्योगीकरण, नयाँ प्रविधियुक्त शैक्षिक विकाससहित सामाजिक न्याय स्थापनामा आर्थिक उत्पादन एवं सामाजिक, सांस्कृतिक रूपान्तरण अभियानमार्फत सुशासनसहित जनताको जीवनमा परिवर्तनको अवधि हुने प्रतिबद्धतापत्रमा उल्लेख छ । जिल्लामा मेडिकल कलेज स्थापना गर्ने योजना पनि गठबन्धनका उम्मेदवारले अघि सारेका छन् ।

जिल्लामा रहेका पालिका अस्पताल र अन्य अस्पतालको सञ्जालीकरण गरेर जिल्लामै ठूला रोगको उपचार र जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना गरिने भनिएको छ । अपूरा पालिका अस्पताललाई पूर्णता दिने र चौरजहारी अस्पताल तथा जिल्ला अस्पताललाई स्तरोन्नति गरी एक सयवटा बेडको बनाउने पनि प्रतिबद्धता छ ।

राजनीतिक मूल्य–मान्यता मुख्य एजेन्डा : एमाले 

एमालेले मंगलबार घोषणापत्र ल्याउँदै छ । केन्द्रको घोषणापत्र सार्वजनिक भएपछि जिल्लाले पनि प्रतिबद्धता ल्याउने जनाइएको छ । यद्यपि, एमालेले राजनीतिक मूल्य–मान्यता स्थापित प्रमुख एजेन्डा भएको बताएको छ ।

जनभावनाको कदर, राजनीतिक नैतिकता, मूल्य–मान्यता, विधिको शासन र सुशासन कायम नहुँदासम्म कुनै पनि विकास हुन नसक्ने भएकाले एमालेको प्रमुख एजेन्डा राजनीतिक मूल्य–मान्यता स्थापित गर्ने रहेको उम्मेदवार देवकोटाले बताए । जनताले विकल्पको खोजी गरिरहेकाले जिल्लामा एमाले विकल्पका रूपमा स्थापित हुने दाबी उनको छ ।

हाल जिल्लालाई नेतृत्व गरिरहेकाले सही तरिकाले नगरेको र जनताले पनि विकल्पको खोजी गरिरहेकाले एमाले नै रुकुम पश्चिममा विकल्प भएको उनले दाबी गरे ।

१२ उम्मेदवार ;
प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिममा ६ जना मैदानमा छन् । चारजना दलका तथा एक–एक स्वतन्त्र र बागी रहेका छन् । गठबन्धनबाट माओवादी नेता जनार्दन शर्मा, एमालेका नन्दराम देवकोटा, राप्रपाका दीपककुमार मल्ल र मंगोल नेसनल अर्गनाइजेसनका हरिबहादुर पुन छन् । तारक केसी कांग्रेसका बागी हुन् भने राजन पाण्डे स्वतन्त्र उम्मेदवार रहेका छन् ।

प्रदेश सभाका दुवै निर्वाचन क्षेत्र माओवादीले पाएको छ । गठबन्धनबाट प्रदेश सभा ‘क’मा महेन्द्र केसी भने उनका प्रतिस्पर्धी एमालेका नारायणकुमार शाह र राप्रपाका विनोदकुमार मल्ल हुन् । गठबन्धनबाट ‘ख’ माओवादीका राजकुमार शर्मा उम्मेदवार छन् भने एमालेका कर्णबहादुर घर्ती र राप्रपाका निर्जलकुमार केसी प्रतिस्पर्धी हुन्