३१ भाद्र २०८१, सोमबार

“विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउनेछाै”- बास्तोला

काठमाडौं :नेकपा बहुमतले बुधबार संवाद डबलीमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै नेता धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने बताए ।उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने समेत बताए ।बास्तोलाले नेपाली कांग्रेस र नेकपा एमाले पश्चगामी शक्ति भएको बताउँदै उनीहरूले संविधान संशोधनको नाममा पछाडि फर्किन खोजेको दाबी समेत गरे ।

‘वर्ग संघर्षलाई नयाँ उचाइमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबिच एकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, हसिया दिएर घाँस काट्न पठाउने वैद्य कमरेडको तरिकाले एकता सफल हुन सकेन’, उनले भने ।

कांग्रेस–एमाले भ्रष्टाचारका काण्डैकाण्ड घटाएका आएको बताउँदै बास्तोलाले भने,‘कांग्रेस र एमाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने पार्टी हुन्, राष्ट्रिय सम्पत्ति बेचेर खानेदेखि भ्रष्टाचारका ठूलाठूला काण्डा उहाँहरूकै पालामा भएका छन्, जसले देशलाई यो अवस्थामा पुर्‍याएको छ ।’

महासचिव बास्तोलाले नेपालमा पनि बंगलादेशकै अवस्था आउन सक्ने बताए । नेपाली शासक पनि शेख हसिनाकै बाटोमा रहेको बताउँदै उनले जनता आजित भइसकेको र नेपाली शासकहरूले दमनको बाटो रोजे भने बंगलादेशको जस्तै अवस्था आउन सक्ने बताए ।

बास्तोलाले नेकपाका महासचिव विप्लव पतनको बाटो हिँडेपछि आफूहरू अलग भएको बताए । पार्टीको साउन ११ देखि १५ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले आगामी पुस ११ गते माओ दिवसको सन्दर्भ पारेर नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले भ्रष्टाचार बैंक, लघुवित्त र सहकारी तथा मिटरब्याजविरुद्ध देशभर संघर्ष गर्ने निर्णय गरेको छ ।

त्यसैगरी अहिलेसम्मका राष्ट्रप्रमुख,  प्रधानमन्त्रीहरू, मुख्यमन्त्री, मन्त्रीहरू, नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख, मुख्य सचिवलगायतको सम्पत्ति छानबिनका लागि दबाब सिर्जना गर्ने बैठकले निर्णय गरेको छ ।

माेहन वैद्य संग अलग भयपछि पार्टीका आगामी कार्यक्रमहरु सार्वजनिक गर्न आज पत्रकार सम्मेलन आयाेजना गरियकाे हाे ।