३१ जेष्ठ २०८१, बिहीबार

जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह :- खेम थपलिया

लेखक : खेम थपलिया

विषयारम्भ :
नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे, यद्यपि यसअघि नै सहादतको प्रक्रिया सुरु भइसकेको थियो । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे ।
पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा सुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालले पनि रगत बगाए । क्रान्तिकारी नेता ऋषि देवकोटा ‘आजाद’ देखि सम्झना दाहाल, टङ्क भुसाल, सात बर्से बालक अनिश शाक्यलाई पनि शासकले बाँकी राखेन, तर पनि जनताले आजसम्म बलिदानीपूर्ण प्रतिरोध जारी राखेका छन् ।
जनयुद्धका क्रममा यो बलिदानीपूर्ण प्रतिरोध उत्कर्षमा पुग्यो । सामन्तवाद, साम्राज्यवादविरुद्ध सङ्घर्ष वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म जाने लक्ष्य र उद्देश्यका साथ अघि बढेको जनयुद्धमा बलिदानको अद्वितीय पिरमीड कायम भयो । ११ बर्से दिलबहादुर रम्तेलदेखि माओवादीका ६ जना केन्द्रीय सदस्य सम्मिलित जनताको महान् उत्सव जनयुद्धको क्रममा सहादत प्राप्त गरे । तत्कालीन फासिस्ट सरकारका बर्बर आतङ्क र हत्याकाण्डले कयौंले आफ्नो सर्वस्व बलिदान दिए, अङ्गभङ्ग भए र अनगिन्ती पीडा पनि व्यहोरे; जसको शाब्दिक वर्णन असम्भव छ । नयाँ यथार्थको जगमा नेपालको इतिहासमा विविध कालखण्डमा भएका वर्गीय र न्यायपूर्ण युद्धका क्रममा उच्च सहादत प्राप्त गर्ने सहिदहरूको सम्झना र सम्मानमा हरेक वर्ष (फागुन १४-२१) बलिदान सप्ताह मनाउने नवीन सांस्कृतिक परम्परा रहिआएको छ । यतिखेर न्यायपूर्ण युद्धका महान् सहिदहरूको सम्झना र सम्मानमा मनाउँदै आएको सहिद सप्ताह निरन्तर क्रान्ति र वैज्ञानिक समाजवादी-साम्यवादी लक्ष्यभेदनार्थ प्रतिवद्धता व्यक्त गर्न आवश्यक छ ।

फागुन १४ को सन्दर्भ :
२०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सुरु गरिएको महान् जनयुद्ध वीरता, बलिदान, सहादत अनि अमरताको ऐतिहासिक घटनाक्रम थियो । वर्गविहीन समाजको परिकल्पनामा जनता पहिलोपटक वर्गबैरीका काला र दुःसाध्य अखडाहरूमा धावा बोल्न मात्रै तयार भएनन्, मृत्युलाई जितेर स्वर्णिम इतिहास निर्माणका लागि अभिप्रेरित भए । त्यसरी मृत्युलाई जितेर महान् सहादतको कोटिमा आफूलाई परिचित गराउनेमध्ये एक हुनुहुन्छ, गोरखाका दिलबहादुर रम्तेल । जनयुद्ध सुरु भएको १३ औं दिनमा नै एघार वर्षीय रम्तेललाई आततायीहरूले कायतापूर्ण तरिकाले हत्या गरे । त्यसैगरी, जाजरकोट लहं निवासी मानबहादुर ओली र मानबहादुर रावललाई फागुन १३ गते गिरफ्तार गरी फागुन १४ गते बिहान ८ बजे नलगाडमा हुत्याएर एकैसाथ हत्या गरिएको थियो ।
सामन्ती दासताविरुद्ध पहिलोपटक जनताले हतियार उठाएको १३ औँ दिन बित्दै थियो । गोरखा-जराङस्थित ब्रह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत कलिला विद्यार्थीहरूलाई तर्साएर-धम्क्याएर जनयुद्ध रोक्ने दुस्साहस गरियो । फागुन १४ गते घ्याम्पेसालबाट निस्केको एक प्रहरी जत्थाद्वारा सूर्यज्योति माविका प्रधानाध्यापक वीरवहादुर गुरुङलाई पोखाराटारको सुकेटारस्थित एक गैरसरकारी संस्थामा आगजनी गरेको आरोपमा विद्यालयभित्रै छोपियो । इमानदार र लोकप्रिय आफ्ना गुरुलाई स्कुलहाताभित्रैबाट अमानवीय र अन्यायपूर्ण गिरफ्तार गर्न खोजेपछि झन्डै ७ सय विद्यार्थीहरूले प्रहरीको कडा प्रतिवाद गरे । प्रधानाध्यापक गुरुङलाई नछोडेपछि विद्यार्थीहरू प्रहरीकै पछिपछि नजिकै रहेको ब्रह्मचारिणी निमाविमा आइपुगे । जनदबाब र प्रतिरोधपछि आतङ्कित प्रहरीले जथाभावी गोली प्रहार गर्न थाल्यो । प्रहरीद्वारा भीडमा अन्धाधुन्दा गोली चलाउँदा ११ वर्षीय दिलबहादुर रम्तेल र स्थानीयवासी रामप्रसाद भट्ट गम्भीर घाइते हुनुभयो । घाइते दुवैजनालाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा तारलेडाँडामा दिलबहादुरको सहादत भयो।

फागुन २१ को सन्दर्भ :
झापाको सुखानीमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिस्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । झापाका विद्रोहीहरूलाई २०२९ कात्तिकमा प्रहरीद्वारा पक्राउ गरेर झापा जेलमा राखिए पनि विद्रोह झन् तीव्र भयो । त्यतिखेर झापाली कम्युनिस्टले जमिनदारलाई सफाइ गर्ने अभियान ‘एक्सन’ अघि बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राती सुखानीको जङ्गलमा पाँचैजनालाई गोली हानेर हत्या गरिएको थियो ।
फागुन २१ गतेको बिहान क्रान्तिका लागि हिँडेका योद्धाहरूलाई जेल सार्ने निहुँमा झापाको चन्द्रगढीस्थित कारागारबाट निकालिँदै थियो । त्यो दिन अरू दिनभन्दा कारागारमा बेग्लै किसिमको त्रास थियो । त्यहाँ सयौं बन्दीहरू थुनिएका थिए तर ती बन्दीहरूमध्ये पाँच जनालाई मात्रै जेल सार्ने बहानामा बाहिर निकालिँदै थियो । झापा विद्रोहमा सामेल भएका र त्यसैको अभियोगमा समातिएका बन्दीहरूलाई नेल, हत्कडी र शरीरै ढाकिने गरी डोरीले बाँधिँदै थियो । यो दृश्य प्रत्यक्ष आँखाअगाडि नै देखिरहेका अरू बन्दीहरूको मनमा भने नराम्ररी चिसो पसेको थियो । उनीहरू खासखुस गर्दै थिए, “यो सबै तयारी सरुवाको हो कि सफायाको !” बन्दीहरूले जे आशङ्का गरेका थिए, आखिर त्यही भयो जेल सरुवाको नाममा झापाको चन्दगढीबाट इलामको लागि भनेर लगिएका बन्दीहरूलाई झापाको सुखानीखण्डमा पुरयाएर हत्या गरियो र भनियो– सुरक्षाफौजको नियन्त्रणबाट भाग्न खोज्दा पाँचजना बन्दीहरू सुरक्षा फौजको कारबाहीमा मारिए । तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिनको ठाडो निर्देशनमा उनीहरूको हत्या गरिएको थियो । पञ्चायती शासकहरूले झापामा किसान विद्रोहको नाममा आतङ्क फैलाएको कथित आरोपमा क्रान्तिका लागि वर्गसङ्घर्षको मैदानमा उत्रिएका पाँच जना योद्धाहरू नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालको नृशंस हत्या गरे ।

सहिद सप्ताह (फागुन १४–२१) को सन्दर्भ :
महान् सहिदहरूको त्याग र बलिदानलाई भयानक अवमूल्यन गर्ने प्रवृत्तिका विरुद्ध माओवादीले सचेत पहलकदमीका साथ बलिदान दिवस-सहिद सप्ताहलाई मनाउने निर्णय गरेको थियो । १० बर्से भीषण जनयुद्धका क्रममा जब क्रान्तिकारी योद्धाहरू ढल्दै जान थाले, त्यसले पार्टीभित्र वेदना, व्यथा, पीडा र निराशासमेत हुन सक्ने कुरालाई ध्यान दिंदै तिनमा क्रान्तिकारी उत्साह र आशावाद जोगाइराख्न बलिदान दिवस मनाउन सुरु गरिएको थियो । वर्गसङ्घर्ष उच्चतामा जान थालेपछि तथा बलिदान र वीरताको गाथा कोरिँदै जान थालेपछि महान् सहिदहरूको सपनालाई सम्झिँदै पार्टी-पङ्क्तिभित्र क्रान्तिकारी ऊर्जा जोगाइराख्न बलिदान-सहिद दिवस मनाउन सुरु गरिएको हो ।
क्रान्तिका मोर्चाहरू फरक भए पनि क्रान्तिकारीहरूको उद्देश्य एउटै हुने सच्चाइलाई आत्मसात् गर्दै माओवादीले सुखानीका महान् सहिदहरूको बलिदानलाई समेत ऐतिहासिक कडीका रूपमा जोड्दै सहिद सप्ताह मनाउन थालिएको हो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलदेखि सुखानीका सहिदहरूको बलिदानलाई जोडेर सहिद सप्ताहका रूपमा सुरुआत गरेको विषय माओवादीको आफ्नो दस्तावेजमा अत्यन्तै महत्वका साथ उल्लेख गरिएको छ । बलिदान दिवसका रूपमा मनाइने यसलाई माओवादीले दोस्रो राष्ट्रिय सम्मेलन (२०५७) ले दस्तावेजमै लिपिबद्ध गरेको भए पनि २०५४ सालबाटै बलिदान दिवस मनाउन थालिएको थियो । त्यसबेलादेखि सहिद सप्ताहलाई केन्द्र, जिल्ला र गाउँ तहसम्म आफ्नो सापेक्षतामा मनाउने गरिएको छ ।
महान् सहिदहरूको त्याग, बलिदान, वीरता तथा शौर्यलाई आत्मसात गर्दै कम्युनिस्ट-सर्वहारा वर्गको आमूल परिवर्तन र मुक्तिका खातिर प्रेरणास्वरूप सुरु गरिएका सप्ताहहरूले साँच्चै क्रान्तिको कडीलाई नयाँ ढङ्गले जोड्ने मद्दत पुगेको छ । सुखानीको वीरता अनि जनयुद्धभित्रको अदम्य साहसलाई बलिदान सप्ताहले लिपिबद्ध गरेको छ । यसले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल मारिएको दिन फागनु १४ गते र झापा आन्दोलनका क्रममा सहादत प्राप्त झापाका अग्रणी योद्धालाई मारिएको फागुन २१ गतेको सुखानी हत्याकाण्डको दिनलाई जोडेर सहिद सप्ताहका रूपमा मनाउँदै आएको ऐतिहासिकतालाई जोडेको छ । बलिदान दिवसभित्र राणाशासनविरुद्ध विद्रोह गरेका गोरखाका प्रथम सहिद लखन थापाको बलिदानलाई समेत जोडिएको छ ।
नेपालमा विगतदेखि आगतसम्म भएका क्रान्ति, सङ्घर्ष र बलिदानको कडी तथा महत्वपूर्ण घटनाहरूलाई जोड्ने आमूल परिवर्तन, अग्रगमन, जनताको मुक्ति र परिवर्तनप्रतिको चाहनालाई आत्मसात गर्नका लागि बलिदान दिवस सहिदी मूल्य र तिनका सपना पूरा गर्न महत्वपूर्ण छ । देश र जनताका लागि लडेर सहिद हुनुभएका महान् सहिदहरूका स्मरण, सम्झना, सम्मानस्वरूप आयोजित सहिद सप्ताह (फागुन १४–२१) महान् सहिदहरूको स्मरण र सम्झना गर्ने महान् सन्दर्भ हो । यो देश र जनताका मुक्तिका लागि क्रान्तिकारी धारा दरोसित पक्रन्छु भन्ने प्रतिबद्धता गर्ने बेला सन्दर्भ पनि हो । जनयुद्धलाई झापा विद्रोहकै निरन्तरता र त्यसको कडीको रूपमा व्याख्या गर्दै दस्ताबेजमा भनिएको छ, ‘झापा विद्रोह नेपाली क्रान्तिको एउटा कोशेढुङ्गा हो, त्यसलाई हामीले जनयुद्धको माध्यमबाट त्यसका लक्ष्य र उद्देश्यहरूलाई जोडेर नेपाली क्रान्तिलाई विजयको सन्निकट पुरयाएका छौँ । अब नेपाली क्रान्ति केही समयमै विजयी बन्नेछ र झापा विद्रोहको सपनासमेत पूरा हुनेछ । सहिदको रगत र जनयुद्धका क्रममा पोखिएको रगत र बलिदान दिएका सहिदको सपना पूरा गर्नु आम क्रान्तिकारीहरूको दायित्व हो ।’

सहिदीमूल्य र सपनाको सन्दर्भ :
आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण एवम् स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्ति नै सहिद हुन्छ । आफ्नै विवेकका आधारमा आफ्नो देश र जनताको निम्ति सङ्घर्षमा उत्रँदा बलिदान दिने व्यक्ति सहिद हुन्छ । सहिद र सहिदी मूल्यलाई यसरी नै बुझ्नुपर्दछ । यसर्थ, देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले बलिदान गर्ने महान् व्यक्ति नै सहिद हुन्छ । असचेत मृत्यु सहिदी मूल्यमा पर्दैन । अचेल उद्देश्यहीन असचेत मृत्युलाई पनि सहिदी मृत्युमा गणना गर्न थालिएकाले सहिदको अवमूल्यन हुँदै गएको छ । सामन्तवादले खडा गरेका विभेद, दासता, शोषण र दमनका पर्खालहरू भत्काउन नेपालमा विभिन्न समयमा थुप्रै सपूतहरूले रगत बगाएका छन् । सबै किसिमका मानवता विरोधी देशी, विदेशी, उत्पीडित र शोषणबाट मुक्त भएर सुन्दर समाज, सुन्दर जीवन अनि सभ्य र उच्च समाजको निर्माण नहुँदासम्म सहिदी प्रक्रिया आवश्यक हुन्छ ।
परिवर्तनको अर्को नाम नै बलिदान हो । नेपालमा इतिहासको प्रत्येक चरणमा सहिदहरूको बलिदानले यथास्थितिको एउटा पर्खाल भत्काएको छ र अग्रगामी परिवर्तनको ढोका खोलेको छ तर त्यसलाई संस्थागत गर्न नपाउँदै सहिदका महान् उद्देश्यलाई प्रतिगामी तत्वले कुल्चँदै आएको छ । अग्रगामी परिवर्तन र मानवमुक्तिकै लागि नेपालमा जनयुद्ध भएको थियो । जनयुद्ध सबैखाले दासता र पराधीनताको अस्वीकृति थियो । यही अभिव्यक्ति स्वरूप जनताले महान् बलिदान गरे । नेपालको इतिहासमा यो बलिदान अद्वितीय छ । जनयुद्धमा अभिव्यक्त भएको महान् त्याग र समर्पणले सामन्ती राजतन्त्रको गजुरलाई धुलोमा सुताइदिएको भए पनि अग्रगामी परिवर्तनका ढोकाहरू पुनः अवरुद्ध हुने अवस्थामा पुरयाइएका छन् । सहिद कुनै एक्लो व्यक्ति होइन, त्यो मुक्ति, क्रान्ति, प्रगति, न्याय, समानता, र अग्रगामी परिवर्तनको समष्टि हो । यो गद्दारी, आत्मसमर्पण, बेइमानी र विसर्जनविरुद्धको खबरदारी पनि हो । यो त्याग, बलिदान, समर्पण, उदात्तता, मानिसको सुन्दर भविष्य र जनकल्याणको प्रतिबिम्बन हो । यो मुक्ति र स्वतन्त्रताको कहिल्यै ननिभ्ने ज्योतिपुञ्ज हो । त्यसैले सहिदसँग जीवनको स्पन्दन छ, सुन्दरता छ, गन्तव्य छ र परिवर्तनको अविरल धारा छ । मावनमुक्ति, उन्नति र प्रगतिका मूल्य, विचार र आदर्शहरूमा सहिद बाँचेको हुन्छ । सहिदको आदर्श ओझेलमा पार्नु भनेको अधोगति हो । हामीले इतिहासको यस सङ्गीन घडीमा महान् सहिदहरूको सपना साकार तुल्याउन प्रतिवद्धता जाहेर गर्ने सन्दर्भ पनि हो ।
सहिदका सपना पूरा भएका छैनन् । हाम्रा अगाडि महान् सहिदहरूका रगतले लेखेको इतिहास, उनका जीवनोत्सर्ग, आस्था, बलिदानका सपना र विचारको निष्ठाले औंला ठड्याएर आज पनि सचेतना दिइरहेको छ कि नयाँ नेपाल निर्माणको सपना नभुल्नू, सर्वहारा वर्गको राज्यव्यवस्था स्थापनाको सङ्कल्प नछोड्नू, सामनता, न्याय र स्वतन्त्रताको समाज स्थापना गर्ने दृढ अठोट नबिर्सनू, सामन्ती र साम्रान्वादी उत्पीडन, दमन र शोषण विरुद्ध सधैं जागिरहने निष्ठा र समर्पणलाई नछोड्नू आदि । तिनले हामीलाई प्रतिरोध संस्कृति, त्याग, बलिदानको संस्कृति र वर्गसङ्घर्षको संस्कृतिलाई निरन्तर अगाडि बढाउन सन्देश दिइरहेका छन् । शौर्य, साहस र वीरताको १० बर्से जनयुद्ध वर्गसंस्कृतिको स्मरण गराइरहेछन् । मुक्तिका लागि क्रान्तिबेदीमा आत्माहुति चढाउन तयार रहनु आजको आवश्यकता हो । विगतमा शासकका बर्बर र अमानवीय तानाशाही सत्ताले क्रूरताको पीरामीड खडा गरयो । तिनले वर्गीय विचार र आस्थामा धावा बोले तर जनताले त्यसको सशक्त प्रतिरोध गरे । त्यो निरन्तर सङ्घर्षको सन्देश पनि थियो । त्याग, निष्ठा र समर्पणको निरन्तर आत्मसातीकरणबिना हामीले अग्रगमनको यात्रा गर्न सक्तैनौं । वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम र वर्गघृणालाई साम्यवादी युगसम्म जीवित राख्ने र वर्गसङ्घर्षलाई लगातार अघि बढाउँदै सर्वहारा वर्गलाई अन्तिम विजय नहुँदासम्म सङ्घर्ष जारी राख्न आवश्यक छ ।
सहिदका सपना जिउँदै छन्, जनताको आमूल परिवर्तनको आकाङ्क्षा ताजै छन् । तर पनि यतिबेला सहिद परिवारहरू अत्यन्तै कष्टकर जिन्दगी जिउन बाध्य छन् । तिनका आफन्तले देखेको आमूल परिवर्तनको सपना कुहिरोको कागजस्तै बनेको छ । आज सहिद परिवार भनिरहेका छन्– खोइ सहिद हुने त सहिद भएर गइहाले तर सहिदका परिवारलाई हेर्ने तिनको दुःखसुखमा साथ दिने काम कोही कसैबाट भएको छैन । राष्ट्रका लागि बलिदान दिनेहरूले त दिए, हाम्रो हेरचाह गर्ने काम पार्टीले गरेन । हामीले पार्टीबाट त्यस्तो केही अपेक्षा त गरेका छैनौं तर समय-समयमा सम्झिदिए मात्रै पनि लाख हुन्थ्यो । देशमा सामन्ती राजतन्त्रको अन्त्य, एकात्मक तथा केन्द्रीकृत शासन प्रणालीविरुद्ध आफ्नो जिउज्यान आहुति दिने सहिद तथा तिनका परिवारमाथि राज्यले उचित व्यवहार गर्न सकेको छैन । बरु जनयुद्धका सहिदको बलिदानलाई न्यून मूल्याङ्कन गर्ने, तिनको बलिदानको खिल्ली उडाउने काम भएको छ । नेताहरू भनिरहेका छन्– सहिदहरूको बलिदान खेर जानेछैन, तिनका सपना अपूरा रहनेछैनन् । सहिदका सपना पूरा गर्नका लागि जस्तोसुकै त्याग गर्न हामीहरू तयार छौँ । सहिद परिवारका अवमूल्यन गर्ने तिनका सपना खण्डित गर्ने परिवर्तनलाई स्वीकार नगर्ने काम यदि कोही कसैबाट भयो भने जनतासँगै हातमा हात मिलाएर लड्न तयार छ । महान् कामका लागि जीवनोत्सर्ग गर्ने व्यक्ति नै सहिद हुन्छ ।

उच्च तहबाट सहादत र तथ्याङ्कमा सहिदको सन्दर्भ
जनयुद्धमा उच्च तहबाट पनि सहादत भएको छ । तत्कालीन पोलिटब्युरो सदस्य वाग्ले ‘बासु’ लाई २०५६ साल भदौमा गोरखाको गाँखुमा प्रहरीहरूले गिरफ्तारपछि हत्या गरयो । उहाँसँगै भीमसेन पोखरेललाई पनि पासविक तरिकारले हत्या गरियो । रोल्पाका जनमुक्ति सेनाको चौथो डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’ लाई रोल्पामा कमान्डो प्रशिक्षण चलिरहेको बेला शाहीसेनाले हानेको एचएमजीको गोली लागि सहादत भयो । केन्द्रीय सदस्य परिवर्तन, कुमार, विशाल र प्रतापको पनि जनयुद्धका क्रममा उच्च सहादत भयो । पोस्टबहादुर बोगटी र हितराज पाण्डेका छोरा रवि बोगटी र मिलन पाण्डेको पनि सहादत भयो । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का दुई भाइको पनि सहादत भयो । उहाँका भाइ योद्धा जनमुक्ति सेनाको बटालियन कमान्डर हुनुहुन्थ्यो भने अर्का भाइ जिल्ला नेता । त्यसैगरी, तत्कालीन जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन ‘पासाङ’ को भाइको पनि जनयुद्धमा सहादत भयो भने तत्कालीन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष जयपुरी घर्तीले जीवनसाथी गुमाउनुभयो ।
गोरखा जेलब्रेककी कमान्डर उमा भुजेल, नेताहरू सरला रेग्मी, दामा शर्मा, धर्मशिला चापागाईं, कञ्चन खनाल, शोभा कट्टेलले पनि जीवनसाथी गुमाउनुभयो । महान् वर्गसङ्घर्षमा सहादत प्राप्त गरेका सहिदहरूको तथ्याङ्क अझै पनि पूर्ण भइसकेको छैनन् । सहिद प्रतिष्ठानअनुसार सहिद तथ्याङ्कमा कोचिला २८६, लिम्बुवान किराँत ४१५, अवध २१६, भोजपुरा २४८, मिथिला ३६१, ताम्सालिङ १११४, नेवाः ४०, तमुवान ४५१, मगराँत १८८८, थारुवान १००३, भेरी-कर्णाली १५१३, सेती-महाकाली ५५७, जनआन्दोलन ३२, गौर हत्याकाण्ड २८ गरी कूलमा यो सङ्ख्या ८,८९५ रहेको बताइएको छ । ऐतिहासिक परम्पराको यही कडीमै जनयुद्धका सहिदहरूसँग समकालीन सहिदहरू पनि अभिन्न रूपमा जोडिएका छन् ।

उपसंहार:
वर्ग मेटाउने र वैज्ञानिक समाजवाद–साम्यवाद स्थापना गर्ने उद्देश्यका साथ जनताले आफ्नो जीवनाहुति दिए । उनीहरू जनमुक्ति र सुन्दर सपना साकार पार्न दीपशिखा बनेका छन् । उत्पीडित जनताको मुक्तिका लागि जनताले कोरेको बलिदानको इतिहास अनुपम छ । न्याय, समानता र स्वतन्त्रताको यो लामो अभियानमा हजारौँ सर्वोत्तम छोराछोरीले दिएको बलिदान सामान्य छैन । जब क्रान्तिकारी योद्धाहरू ढल्दै जान्छन्, वेदना, व्यथा, पीडा थपिँदै जान्छ । जितहारको शृङ्खला थपिँदै जान्छ । महान् उद्देश्य प्राप्तिको महासागरमा बलिदान र वीरताको गाथा कोरिन्छ अनि सहिदहरूको सपना पूरा गर्ने अठोट पनि सच्चा क्रान्तिकारीहरूले गर्दछन् । जुन देशमा सामाजिक, आर्थिक र राजनीतिक क्रान्ति भएका छन्; त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिनास्वार्थ देशका लागि नागरिकहरूले बलिदानी दिएका छन्, जसको मूल्य र सपना उच्च छ । महान् सपना पूरा गर्ने आकाङ्कक्षीको छाती निकै फराकिलो हुँदाहुँदै पनि यतिबेला जनताका घरआँगनमा दुश्मन मार्चपास गर्ने खोजिरहेछ ।
क्रान्तिमा केही नेताले धोका दिन सक्छन् तर पनि क्रान्तिकारी प्रवाह रोकिँदैन । क्रान्तिको सामूहिकीकृत उध्र्वगामी दिशा पक्रनु आजको आवश्यकता हो । क्रान्तिको उध्र्वगामितामा सहिदीमूल्य हुन्छ । सहिद मुक्ति, क्रान्ति, प्रगति, न्याय, समानता, र अग्रगामी परिवर्तनको समष्टि हो । यो हरेक गद्दारी, आत्मसमर्पण, बेइमानी र विसर्जनविरुद्धको खबरदारी पनि हो । यो त्याग, बलिदान, समर्पण, उदात्तता, सुन्दर भविष्यको प्रतिबिम्बन पनि हो । सहिद मुक्ति र स्वतन्त्रताको कहिल्यै ननिभ्ने ज्योतिपुञ्ज हो । त्यसैले सहिदसँग जीवनको स्पन्दन छ, सुन्दरता छ, गन्तव्य छ अनि परिवर्तनको अविरल धारा छ । मानवमुक्ति, उन्नति र प्रगतिका मूल्य, विचार र आदर्शहरूमा सहिदहरू बाँचेका हुन्छन् । साम्यवादमा पुग्न कैयौँ बलिदान र कठिनाइका साथ महान् सर्वहारा सांस्कृतिक क्रान्तिहरू पार गर्नुपर्नेछ । यही भावका साथ कम्युनिस्ट-सर्वहारा वैज्ञानिक समाजवाद-साम्यवादमा पुग्नेछन् । सहिदको जीवन, जसले आफ्नो सारा सामथ्र्य र बुद्धि मानवमुक्तिको महान् तथा उच्च लक्ष्यमा लगाएर, आफ्नो सम्पूर्ण जीवन त्यसको हेतु सङ्घर्षमा बिताएर आखिरमा बडो सन्तोषका साथ मृत्युलाई अङ्गीकार गर्छ, जुन अमरताको प्राप्ति हो । आज जनयुद्ध र माओवादलाई अनेक प्रपञ्चका साथ गिजोल्ने षड्यन्त्र भइरहेको छ, जसको सशक्त प्रतिवाद गर्नु अपरिहार्य छ । अन्त्यमा ल्याटिन अमेरिकी देश उरुग्वेका लेखक एदुआर्दो गालेआनोको यो भनाइ प्रस्तुत गर्दछु, “एक जना मजदुरले मलाई भन्यो, सहिदप्रति जनताको अपार प्रेम छ तर उसको मृत्युपछि मात्र । त्यसअघि त ऊप्रति केवल गुनासो थियो ।” सम्पूर्ण अमर सहिदहरूप्रति अभिवादन !लेखक थपलिया : प्रगतिशील लेखक तथा अखिल नेपाल जन साँस्कृतिक महासंघका केन्द्रीय सह- संयोजक हुन ।