५ माघ २०८१, शनिबार

बिदा– मेरो प्यारो गुरु, रुँदै भन्छु– बिदा–बिदा !! “कविता” -अशाेक सुवेदी

लेखक : अशाेक सुवेदी

                  कविता

खुसी छैन आज यो मन, हाँस्दैन यो रङ्गीन फूल
मनै चङ्गा नभए’छि जीवन बन्ने रै’छ शूल
प्रियजनको बिछोडले धर्की–धर्की रुन्छ यो मन
निर्जन लाग्छन् कोठा–चोटा, बैरागिँदा लाग्छन् यी बन !

उच्च थिए सपना हाम्रा, लक्ष्य थियो शिखरसम्म
जस्तासुकै कठिनाइ पार गर्ने क्षितिजसम्म
कहाँ लाग्यो, कहाँ दुख्यो, कति गर्यौ ऐयाऽआत्था ?
निष्ठुरी त्यो क्रूर मृत्यु किन आयो जस्तो लाग्छ !

‘भेटौँला नि छिट्टै हामी, कोरौँला नि नयाँ बाटो’
भन्दै मुस्काराउँदै हामी छुटेका थ्यौँ, घरैबाट
पत्याउन मुस्किल पर्ने, सहन झन् गाह्रो पर्ने
कस्तो बाटो हिँड्यौ तिमी ? प्रियजन नि शोकमै मर्ने !

दख्खल थियो दर्शन र भौतिकवादी सिद्धान्तमा
मार्क्सवादी सौन्दर्य र समीक्षा–समालोचना
सिर्जना र बौद्धिकता परिचय थियो तिम्रो
सरलता, इमानदारी, गम्भीरता छनक तिम्रो !

आफू कता बिलाई गयौ देखाई हाम्लाई एउटा बाटो
नपुरिने छोड्यौ घाउ, कहिले बस्ला यसमा खाटो
सङ्घर्षमै बित्यो जीवन, अमर तिम्रा विचार छन्
पुस्तक र शोधग्रन्थमा विचारहरू घुलित छन् !

जीवनभरि श्रम, सीप, बौद्धिकता रोप्यौ यहाँ
श्रम–फल लाग्ने बेला फुत्त छोडी गयौ कहाँ ?
शीला आमा, साथीहरू हेरिरा’छन् तिम्रै बाटो
निष्ठुरी र छली रै’छौ झुक्याई हिँड्यौ अर्कै बाटो !

बेलाबेला टोलाइर’न्छु, ‘सर’ भनी बोलाइर’न्छु
तिम्रा मीठा कुरा सम्झी दुवै आँखा डोलाइर’न्छु
आऊ न प्यारा, सहृदयी, स्वाभिमानी स्रष्टा तिमी
सिकाइदेऊ न जीवनगाथा, कहाँ गयौ द्रष्टा तिमी !

मृत्यु जित्ने बौद्धिक योद्धा, कहाँ गयौ– छोडी पीडा
बिदा– मेरो प्यारो गुरु, रुँदै भन्छु– बिदा–बिदा !
दुई दिन बित्यो भन्छन् तर मन छैन अझै ढुक्क
मीठो स्वरले बोलाउँछौ झैँ लागिर’न्छ कुक्क–कुक्क!!!

२०८० पुस २७ गते दाङको भालुबाङमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउन पुगेका माक्सर्वादी चिन्तक, साहित्कार प्रा.डा. ताराकान्त पाण्डेयको सम्झनामा ।)

लेखक सुवेदी : प्रगतिशिल लेखक, पत्रकार तथा क्रान्तिकारी विचारक हुन ।