११ श्रावण २०८१, शनिबार

रुकुममा ट्याक्टर दुर्घटना, ५ जनाकाे मृत्युु , चालक फरार

रुकुम :रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको कोटच्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोट भित्रि सडकखण्डको वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्प पीडितको जस्ता पाता बोकेको रा १ द १४ ट्याक्टर घुम्ती मोडन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी आठबीसकोट १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो। यस्तै सोही वडाको डाँडाका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको  छ। बुधबार राति १० बजे उक्त दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। घाइतेहरुमा आठबीसकोट ८ का ४१ वर्षीय खडक बहादुर पुन, वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की , वडा नम्बर ८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ , ५१ वर्षीय जगबीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन रहेका छन्। घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उक्त ट्याक्टरका चालक आठबीसकोट ९ का २१ वर्षीय गोपाल विक अहिले फरार रहेको प्रहरीले जनाएको छ।