९ श्रावण २०८१, बिहीबार

जाजरकोट भूकम्प : गम्भिर चेतावनी र नवनिर्माणको कार्यभार: “दिपक”

लेखक : उदय बहादुर चलाउने "दिपक"

गत कार्तिक १७ गतेको भूकम्पले क्षेतविक्षेत घरहरुको भग्नाववशेषमा फेरिएको जाजरकोटको पूर्वि क्षेत्र र पश्चिम रुकुमको पश्चिमी गाउँहरुमा पुग्ने जोकोहि मानिसहरुको मनमा एक प्रकारको प्रश्न उब्जिन्छ– यदि केहि मिनि सेकेण्ड मात्रै कम्पन बढेको भए ? मध्य रातको समय, ढुंगा र माटोका कमजोर घर, छितरिएको बस्ती, यातायातको असुविधा एउटा भयावह परिणामको कल्पनाले जिऊ सिरिङ्ग हुन्छ र मुटुको धड्कनले गति तिब्र बनाउन थाल्दछ । बाँचेका मानिसहरु ती सबै घरभित्रै थिए, जुन घर भूकम्पले चिरा पारेर जीर्ण बनाईदिएको छ । उनीहरु तब मात्रै घरबाट बाहिर निस्किए, जब कम्पन सुस्त भयो । उपर्युक्त स्थितिसँग तुलना गर्दा जे जति जन–धनको क्षति भयो, त्यो वास्तवमा न्यून हो ।२०७२ सालको भूकम्प पश्चात् पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको बारे प्रसस्तै बहसहरु भएका थिए । आवासीय नवनिर्माणको गीत पनि प्रशस्तै गाइएको हो । तर, त्यो क्रमशः दिन, महिना र बर्ष हुदै सेलायो । मन्द भयो र करीब बन्द भयो । आखिर, त्यो बेला मानवीय क्षतिको प्रमुख कारण बनेका घरहरु नै यो बेलाको पनि एक मात्र कारण बने । आफैले बनाएका घरले थिचेर फेरि पनि थुप्रै जनताको ज्यान गयो ।जाजरकोट भूकम्पले नेपाली राजनीति, यहाँ हुर्किईरहेको सँस्कृति र फैलिईरहेको चेतनालाई स्वयम्प्रति अचेत, अनुत्तरदायी र पश्चगामि मात्रै साबित गरेन, नेपालका सत्तासिनहरुलाई, राजनीतिक, प्रशासनिक, बौद्धिक ठालुहरुलाई समेत नराम्ररी कुरीकुरी गरिदियो । विवेकको सिमा र स्वार्थको दायरालाई नाङ्गेझार पारिदियो ।

जे नहुनु थियो त्यो भैसक्यो, जे हुनु थियो त्यो पनि भैसक्यो अर्थात् भूकम्प जाने निश्चित थियो त्यो गयो, तर आफ्नै संरचनाले थिचेर ज्यान जाने परिस्थितिको अन्त्य गर्नुपथ्र्यो त्यो दोहोरियो । कुरो के छ भने भूगर्भविदहरुको अनुसार अझै पनि भूकम्पको जोखिम उत्तिकै छ, जति हिजो र अस्ति थियो । जन–धनको क्षतिको कारण पनि तिनै परम्परागत घर बन्ने वाला छन् । निम्न वर्गको तप्का, जसको ल्याकत बलियो घर निर्माण गर्ने छैन, पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर हिमालय श्रृंखलादेखि तराईका फाँटसम्म, उनीहरु सबैभन्दा उच्च जोखिममा छन् । त्यसो भए अब के गर्ने ? के नवनिर्माणको उहि रटान मात्रै लगाउने या बाजा मात्रै बजाउने ? बहस मात्रै गर्ने ? या कामको थालनी गर्ने ?जाजरकोट भूकम्प आवासीय पूनर्संरचनाको क्रान्तिमा एउटा अर्को पूर्व चेतावनी हो, जो साँचो अर्थमा नवनिर्माणको महाअभियान बन्न सक्छ । तर, यो क्रान्तिको नेतृत्व गर्ने सक्षमता, इमान्दारीता, साहस र नैतिकता के आजको नेपाली समाजमा छ ? नेपालको सत्तासँग छ ? नेपाली राजनीतिसँग छ ? नेपालको प्रशासनसँग छ ? सबै क्षेत्रमा क्रियाशील नेतृत्व पंक्तिमा छ ? यो प्रश्नको जवाफ मुलतः अनुत्तरित र अदृश्य छ । जबकि, नवनिर्माण आजको युगीन, ज्वलन्त र उच्च वस्तुगत आवश्यकता हो । यो प्रक्रियाको सार्थकता अर्को अर्थमा नेपाली राजनीति, अर्थनीति, सँस्कृति र समाजको समेत पूनर्संरचना हो । तर, प्रश्न फेरि दोहोरिएर आउछ, त्यो कसरी ?यसपटकको भूकम्पीय विपदलाई साँचो अर्थमा नवनिर्माणको अभियानमा बदल्न, आवासीय पूनर्संरचनाको क्रान्तिमा बदल्न एउटा राष्ट्रिय संकल्पको जरुरी छ । यो संकल्प मुख्यतः वैचारिक पूनर्संरचना हो । नयाँ वैचारिक पूनर्संरचनाबिना भौतिक पूनर्संरचना असम्भव हुन्छ । नेपाली इतिहासको पछिल्लो खण्डमा कैयौं राजनीतिक आन्दोलन र संघर्षहरु भएतापनि त्यसले वैचारिक पूनर्संरचनाको अभिभारा पुरा गर्न नसकेको तीतो वास्तविकता नै यो प्राकृतिक विपदको सहन हो भन्नेमा द्विविधा हुनु जरुरी छैन । पहाडमा युगौ पहिले खोरीया फाँड्दै, जीविकोपार्जन गर्दै निर्माण गरिएको आवासीय प्रविधि र आवासस्थलहरु अब निकै जीर्ण र अपाईक बनिसकेका छन् । अवसरको अभावले काकाकुल भएर शहर पसेको जनसंख्या र लामो समयदेखि सहरमै या सहरको छेउछाउमा रहेर पनि अभावको कहरले जीर्ण आवासहरुमा जिवन गुजारा गरिरहेको जनता, यसखाले उत्पादन सम्बन्धबाट निर्मित सँस्कृति तथा त्यसको जगमा उभिएको अर्थप्रणाली आजको नेपाली समाजको आवश्यकतालाई धान्ने ताकतमा छैन र बरु उल्टो त्यो नै नव निर्माणमा प्रमुख छेकवार बनेको छ ।पहाडको सुदूर बस्तीमा आफ्नै वारीको छेउमा बनाईएको ढुंगामाटोको घर, कैयौं त्यो पनि सन्तानहरु विदेश गएर बञ्जर बनेको वारी, घरमा बसेका साना छोराछोरी, श्रीमती र बुढा आमाबाबा ? भूकम्प आयो, तिनै मध्यका कोहि मरे, कोहि घाईते भए, मनका घाईते त कोहि पनि बाँकि रहेनन् । जाजरकोट र रुकुमका गाउँहरुमा देखिएको एउटा चित्र यहि हो । यसर्थ, यो विषय केवल आवासिय पूनःनिर्माण मात्र होईन । यो विषयसँग कैयौं प्रश्नहरु जोडिएका छन्– स्वदेशमै कसरी अवसरको श्रृजना गर्ने ? त्यसमा पनि गाऊँहरुमा कसरी अवसरहरुको श्रृजना गर्ने ? यिनै प्रश्नहरुको जवाफसँग सिङ्गो आवासीय पूनर्संरचनाले पूर्णता र सार्थकता पाउछ । यो विषय तत्कालका लागि जाजरकोट–रुकुमका लागि ज्यादा भए पनि सिङ्गो देशकै विषय हो ।

हाम्रो देशमा किन उद्योग, कारखानाहरु खुल्न सकेनन् जसले रोजगारीको अवसर पैदा हुन जान्थ्यो बरु, भएका समेत सरकारी उद्योगहरु बन्द हुदै गईरहेकाछन् ? किन विश्वविद्यालयहरुले देशको आवश्यकता पुरा गर्ने दक्ष जनशक्ति उत्पादन गर्न सकिरहेका छैनन् ? थोरै भएका प्राविधिक शिक्षालय समेत किन अति महंगा छन् ? किन गाउँमा राम्रा स्कुल र अस्पताल खोलिदैनन् ? किन नेपाली किसानले उत्पादन गरेको महंगो हुन्छ र विदेशबाट आयात गरिएको सस्तो हुन्छ ? के यो अवस्था बदलिदैन ? हो, यिनै प्रश्नहरुसँग अबको पूनःनिर्माण अभियान जोडिएको छ र त्यसको एउटा अंश भूकम्पीय नवनिर्माण अर्थात् आवासीय पुनर्संरचना हो ।

जाजरकोट भूकम्पले गम्भिर चेतावनीसहित खोलिदिएको नवनिर्माणको द्वार विपत्तिहरुले पैदा गर्ने विरलै अवसर अन्तर्गतको एउटा स्वर्णद्वार बनाउनु आजको प्रमुख आवश्यकता र नैतिक दायित्व हो । त्यसका लागि दुई वटा शर्त अनिवार्य हुन्छ – प्रथम, यसलाई ‘सुरक्षित आवास र एकीकृत वस्ति प्रणाली’ को नारासहित निश्चित अवधि तोकेर जाजरकोट–रुकुमबाट शुरु गरिने राष्ट्रिय अभियान घोषणा गर्नु । दोस्रो, आवासिय पुनर्संरचनालाई अर्थ–राजनीतिक पूनर्संरचनासँग जोड्नु ।
जाजरकोट र पश्चिम रुकुमका जनता मंशिर–पुषको जाडोमा तप्पतप्प शित चुहिने पाल÷टिनमुनि बसेर भोलिको सम्भावित विपदको जाग्राम गरिरहेकाछन् । सिङ्गो देशको विवेक र नैतिकतालाई चेतावनी गरिरहेका छन् । यदि यो कष्ट फेरि पनि नजरअन्दाज भयो भने शितको स्थानमा आँसु र रगत बग्नु अवश्यम्भावि छ, त्यो पनि कैयौं गुणा चर्को भुक्तानिसहित ! अतः दृढ प्रतिबद्धताकासाथ संकल्प गरौं– भूकम्पीय विपदलाई नवनिर्माणमा बदलौं ! शहरबाट गाऊँहरुमा अवसरको विस्तार गरौं । स्वदेशमै अवसरको श्रृजना गरौं !

२०८०मंसिर २८ गते