११ श्रावण २०८१, शनिबार

फेरौँ अब मक्किएको आफ्नै घरको खाँबो ! “कविता” अशाेक सुवेदी

लेखक : अशाेक सुवेदी

फेरौँ अब मक्किएको आफ्नै घरको खाँबो !

राती भुक्ने कुकुरले घरको चियो गर्छ
दिउँसै भुक्ने भुस्याहाले मनकै दियो मार्छ
कोही कुकुर इमानदार, कोही बेइमान
भुस्या कुकुर हुँ…हुँ गरी सुत्नै देनन् आज !

सिंहासनमा मोदी–दास, क्वै अम्रिकी दास
अनुहार–टोपी नेपालका, साम्राज्यवादी खास
लेन्डुपे र चन्द्रशेखर बसी मित लाउँछन्
मुखले नेपाल भने पनि दलाल भजन गाउँछन् !

माथि दास, बीचमा दास, तल परम दास
सत्तामा छन् साम्राज्यवादी– दासको छैन आस
दासमुक्त गर्न स्पार्टाकस चाहिएको छ
रक्तरञ्जित रातो झन्डा बोक्ने चाहिएको छ !

जन्मेलान् कि माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन
माओ, किम, चे, फिडेल, चारु, हो ची, चियाङचिङ
यो चैँ होला माओ भन्यो, हुन्छन्–केशर–मोहन
स्टालिन नै हुन् कि भन्यो सी हुँ भन्दै दोहन !

बिउ छर्छु लेनिनको ख्रुस्चेब टुसाउँछ
स्टालिन–माओ रोप्छु, तेङ पो सुसाउँछ
हाम्लाई अब काउत्स्की होइन, माक्र्स नै चाहिएको छ
संसद्वादी झार उखेली क्रान्ति चाहिएको छ !

भूकम्पमा धोका दियो निम्काठे खाँबोले
धानबालीलाई दुःख दियो बेकामको सामोले
क्रान्तिबाली फस्टाउनलाई गोड्नुपर्छ सामो
फेरौँ अब मक्किएको आफ्नै घरको खाँबो !

हालौँला नि नयाँ खाँबो खोजी सतिसाल
धमिराले खा’का सबै काठ निकाली फाल
फेर्नुपर्ने भएपछि घरकै धुरीखाँबो
डाँडाभाटा जाबो फेर्न के नै हुन्छ गारो !

(प्रभाती यात्राका क्रममा ढाँडचौरमा आफ्नै कान्छा दाजु–भाउजू, भतिजहरू ऋषि र हरिसँग चियापान) पछि , कवि , चिया मुस्कानमा –