२३ भाद्र २०८१, आईतवार

आउ युवा हाे : “कविता” पुर्ण बहादुर सिंह (समरजंग)

लेखक : पुर्ण बहादुर सिंह ( समरजंग )

आऊ युवा हाे !

जनता र शास्त्र जोड्न आऊ
यो मुलुक बदल्न आऊ ।
देश बचे हामी बच्छौं,
देश नरहे हामी नै रहन्नौं ।
मेची, काली, हिमाल, पहाड र तराई छ,
जल, जङ्गल र जडिबुटी छ,
पानी र खानी छ ।
विदेशबाट स्वदेश आऊ ,

आऊ युवा आऊ!

नेपाल आमा र आफन्तको आव्हान छ,
देश बदल्न र मुलुक बनाउन आऊ,
देशको र युवा सपना साकार गर्न आऊ
यो आदर्श र आस्थामा दृढ भएर आऊ
दुनियाँका व्यावसायिक कुशलता सिकेर आऊ
नयाँ सिर्जना र प्रयोग गर्न साहस लिएर आऊ
कडा परिश्रममा समर्पित हुन आऊ
आफ्नो चरीत्रलाई संयमित तुल्याएर आऊ
मुलुकलाई पुनः जागृत गर्न आऊ
देशलाई समुन्नत र सशक्त बनाउन आऊ
नेपाल र नेपाली सपना साकार गर्न आऊ

आऊ युवा हाे !
मेची र काली बोल्नु पर्छ
हिमाल, पहाड र तराई जोड्नु पर्छ
मयुर र डाँफेको मन्त्रमुग्ध नाँच हेर्न आऊ
सगरमाथा शिखर उच्च राख्न आऊ
शिशिरलाई बसन्तमा फेर्न आऊ
नयाँ जीवन र भविष्य कोर्न आऊ
जमेको दुष्ट चट्टान फोर्न आऊ
नयाँ मार्गचित्र कोर्न आऊ
आऊ, आऊ, आऊ युवाहरु हो
स्वदेश आऊ, जन-जनको चहराईरहेको घाउमा मलम पट्टी गर्न आऊ !!!

२०८०/०८/२६ काठमाडौं