११ श्रावण २०८१, शनिबार

रुकुम पश्चिम “चाैरजहारी”मा सवारी चालक अनुमतिपत्रकाे शुभारम्भ

चाैरजहारी ।रुकुम पश्चिमको चौरजहारीमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) जारी प्रक्रियाको शुभारम्भ गरिएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीद्धारा प्रदान गरिने सवारी लाईसेन्स जारी प्रक्रियाको आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुभारम्भ गरेका हुन ।

आजबाट यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट लाईसेन्स वितरणको प्रक्रिया सुरु भएको छ । वायोमेट्रिङ सुरु भएसँगै लाइसेन्स वितरणको प्रक्रिया शुभारम्भ भएको हो ।

अनलाइन मार्फत फारम भरेकाहरुको आजबाट बायोमेट्रिक सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । उहाँका अनुसार अब हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने छ ।

उहाँले वायोमेट्रिकपछि लिखित परीक्षा संचालन हुने र त्यसपछि ट्रायल हुने बताउनुभयो । कार्यालयले अहिले ट्रायल सेन्टर भाडामा लिइएको छ ।

अब चौरजहारीबाटै मोटरसाइकल, कार, जिप, भ्यान, स्कुटर र अटो रिक्साको लाइसेन्स प्राप्त गर्न सकिनेछ ।