२३ भाद्र २०८१, आईतवार

“नेपाली क्रान्तिको जित अवश्यम्भावी छ” भन्दै स्वीकपाले क्रान्तिकारी पार्टीलाई पठायो यस्तो सन्देश

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का बीचमा एकता भएर नेपाली मजदुर वर्गको एउटै पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएकोमा स्वीट्जरल्याण्डको कम्युनिस्ट पार्टी, स्वीट्जरल्याण्डले अत्यन्तै खुसी व्यक्त गरेको छ ।

उसले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई एक सन्देश पठाउँदै भनेको छ, “माक्र्सवाद–लेनिनवाद–माओवादको वरिपरि एकजुट होऔं !, नेपाली क्रान्तिको जित अवश्यमभावी छ !’

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई पठाइएको सन्देशमा भनिएको छ, “पुष्पकमल दाहालको नेतृत्वमा रहेको प्रतिक्रान्तिकारी, संशोधनवादी गुटले क्रान्तिलाई धोका दिनुभन्दा अगाडि नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्वमा नेपाली सर्वहारा वर्ग र जनता – विश्वको दोस्रो “गरीब” देश अर्थात् विश्वको दोस्रो सबैभन्दा शोषित देशका सर्वहारा वर्ग र जनताको संघर्षको गौरवशाली इतिहास छ ।

सन् २००६ मा जनयुद्ध चरम उत्कर्षतिर पुगेको बेला लगभग सिङ्गो नेपाल साम्राज्यवादको अनैतिक शोषणबाट मुक्त भइसकेको थियो, सामन्ती जमिन्दारहरूको मध्ययुगीन शासन समाप्त भइसकेको थियो र विदेशी एकाधिकार पुँजीपतिका भ्रष्ट उप–ठेकेदारहरू राजधानी काठमाडौतर्फ फर्किसकेका थिए — तपाइँहरुको देशको इतिहासमा पहिलो पटक मजदुर, किसान तथा अन्य श्रमिक जनताले सत्ता आफ्नो हातमा लिएका थिए ।

जनयुद्धको विजय भएको स्थितिमा निरंकुश राजतन्त्रको पतनको फाइदा उठाएर नेपालमा भारतीय विस्तारवादले आफ्नो बुट बजार्ने सोचेर गद्दार पुष्पकमल दाहाल र उसको गुटले नेपाली जनतालाई धोका दियो । उनीहरूले जनसत्ताको विघटन गरे, जनमुक्ति सेनाका लडाकुहरूलाई संयुक्त राष्ट्र सङ्घद्वारा सञ्चालित यातना शिविरमा थन्क्याए र जनताका बन्दुकहरू शत्रुको हातमा सुम्पिए – यसरी “प्रचण्डपथ” कुन दिशातिर जाँदै छ भन्ने कुरा सारा विश्वलाई देखाइदिए । पुष्पकमल दाहाल अहिले नेपालको प्रधानमन्त्री बनेका छन्, उनको आत्मसमर्पणबाट जनताले के पाए ? संशोधनवादीहरू, नक्कली कम्युनिस्टहरू अन्ततः एकै छिनमा क्रान्तिलाई धोका दिने अहंकारी पाखण्डीहरु बाहेक अरू केही होइनन् भन्ने शिक्षा पाए ।

यो पाठद्वारा सशस्त्र बनेका नेपाली जनताले तपाइँको पार्टीको नेतृत्वमा सही र उपयुक्त आम कार्यदिशामा अडिग रहेर सशस्त्र सङ्घर्षलाई पुनः अघि बढाउने छन् र त्यो पहिलेको जस्तै ठुलो उचाइमा पुग्नेछ भन्नेमा हामी विश्वस्त छौं । यसले माक्र्स, लेनिन र माओले हामीलाई निरन्तर सिकाउनु भए जस्तै क्रान्तिकारी सङ्घर्षका रणनीतिक सिद्धान्तहरूलाई उल्लङ्घन नगरी वर्ग सङ्घर्षको तरलताका बीचबाट सिर्जनात्मक ढङ्गले कार्यनीतिको परिचालन गर्ने कुराको माग गर्दछ । यसरी तपाइँहरुले क्रान्तिको वर्तमान चरणमा अवश्य जित हासिल गर्नुहुनेछ, त्यसमा नरोकिइकन समाजवादी क्रान्तिमा अगाडि बढ्नु हुनेछ र साम्यवादी समाजको निर्माणमा संसारभरिका उत्पीडित जनतासँग हातेमालो गर्नु हुनेछ ।”

९ मई २०१३ मा नै पठाइएको सन्देशमा ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल — जिन्दावाद !, संशोधनवाद — मुर्दावाद !, माक्र्सवाद–लेनिनवाद–माओवादको वरिपरि एकजुट होऔं !, नेपाली क्रान्तिको जित अवश्यमभावी छ !’ उल्लेख गरिएको छ ।