११ श्रावण २०८१, शनिबार

गृहमन्त्रालयमै लेनदेनकाे झगडा भयकाे थियाे : रायमाझी

काठमाडौं ।पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुबीचको लेनदेनका क्रममा गृह मन्त्रालयभित्रै विवाद भएको दाबी गरेका छन् ।

पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले आफू कामविशेषले गृह मन्त्रालयमा जाँदा लेनदेनको विवाद प्रत्यक्ष रुपमा सुनेको दाबी गरे ।

कामविशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको हुँदा म पनि कार्यकक्षमा छिरे’, १६ पुस २०७७ को घटना भन्दै उनले बयानमा खुलाएका छन्, ‘त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ ।’

कार्यकक्षबाट बाहिर निस्केपछि आफूले सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट (नक्कली) काम त गरेका छैनौ भनेर सोधेको उनको दाबी छ । त्यसक्रममा उनीहरुले भुटानी शरणार्थीको मामिलामा काम गरेको स्वीकारेका छन् ।

उनीहरुको भनाइ उद्धृत गर्दै रायमाझीले बयानमा भनेका छन्, ‘हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला र भनी प्रतिप्रश्न गरेका थिए ।’

उनले भुटानी शरणार्थीको विषयमा कार्यदल बन्नुअघि नै आफूलाई जानकारी भएको स्वीकारेका छन् । सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा ‘टोपबहादुर मामा’ भनी रायमाझीको नाममा पैसा भुक्तानी भएको विवरण भेटिएको थियो । डायरीमा उल्लेख भए पनि आफूले कसैसँग रकम नलिएको दाबी रायमाझीले गरेका छन् ।

उनले केवल पौने घण्टामा घुमेर आउन सकिन्छ भनेकाले आफू केशव दुलाल र सानु भण्डारीसँग हेलिकप्टरमा गोसाईंकुण्ड घुम्न गएको उल्लेख गर्दै बयानमा भनेका छन्, ‘म उनीहरुको कुरामा सहमत भई गोसाईंकुण्ड गई फोटो खिचाइ फर्किएका हुँ। म सो ठाउँमा घुम्न जाँदाको अवस्थामा मैले सामान्य रुपमा लिएको थिएँ ।’

उनले आफ्नो छोरा पक्राउ परेको, पक्राउपछि हत्कडी लगाएको खबर सुनेकाले मन बिग्रिएको भन्दै त्यसपछि सम्पर्कविहीन भएको बयान दिएका छन् ।

बयानमा उनले भनेका छन्, ‘मेरो छोरा पक्राउ परी हत्कडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हत्कडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ, सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ ।’