११ श्रावण २०८१, शनिबार

प्रचण्डले पाय १७२ बिश्वासकाे मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट उनले नेपाली कांग्रेससहित १० वटा दलबाट विश्वासको मत पाएका हुन्।

प्रचण्डलाई विश्वासको मतको पक्षमा १७२ मत परेको हो। मतदानमा उपस्थित २६२ जनामध्ये प्रस्तावको विपक्षमा ८९ मत परेको छ। उता मत दिन्न भन्ने पक्षमा १ मत परेको छ।

प्रचण्डलाई नेपाली कांग्रेससहितका ११ दलले विश्वासको मत दिएका हुन्। उनलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मत दिएनन्। नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो।

उनले प्रधानमन्त्री भएपछि संसद्‍बाट दोस्रो पटक विश्वासको मत लिएका हुन्।

राष्ट्रपति र उपराष्ट्रपति चयनका क्रममा नेकपा एमालेसहितका सात दलीय गठबन्धनबीच मतैक्यता हुन सकेको थिएन।

त्यसपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। त्यही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने थियो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री दाहालले पहिलोपटक गत पुस २६ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए।

माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन उनलाई मिलेको छ।

प्रधानमन्त्रीलाई  विश्वासको मतका लागि एक सय ३८ सांसदको मत आवश्यक पर्थ्यो। प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद छन्। यस्तोमा उनलाई ६० प्रतिशत बढी सांसदको मत मिलेको हो।प्रतिनिधिसभामा एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र दुई, नेमकिपा र आमजनता पार्टीका एक सांसद छन्। उनीहरु विश्वासको मतको विपक्षमा उभिएका छन्।