५ माघ २०८१, शनिबार

नेकपा बहुमतद्वारा नारी दिवसको शुभकामना

काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाललगायत संसारभरका श्रमिक क्रान्तिकारी महिलालाई हार्दिक शुभकामना दिएका छन् । प्रवक्ता सुदर्शनले श्रमिक महिलाहरूको सचेत पहल, निरन्तरको श्रम, सङ्घर्ष र बलिदानले स्थापना गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले नेपाललगायत संसारभरका श्रमिक, क्रान्तिकारी महिलाहरू र उत्पीडित वर्गलाई मुक्ति र सङ्घर्षको प्रेरकका रूपमा मनाउन हार्दिक आह्वान पनि गरेका छन् ।

प्रवक्ता सुदर्शनले बुधबार शुभकामना विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आज ८ मार्च अर्थात् ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । श्रमिक महिलाहरूको सचेत पहल, निरन्तरको श्रम, सङ्घर्ष र बलिदानले स्थापना गरेको यो ऐतिहासिक दिवसका अवसरमा नेपाली शोषित–उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नेपाललगायत संसारभरका श्रमिक, क्रान्तिकारी महिलाहरूमा हार्दिक शुुभकामना प्रदान गर्दछ र यो पर्वलाई संसारका सम्पूर्ण श्रमिक, उत्पीडित महिला, उत्पीडित वर्गको मुक्ति र त्यसका लागि जारी सङ्घर्षको प्रेरकका रूपमा मनाउन हार्दिक आह्वान पनि गर्दछ ।

प्रवक्ता सुदर्शनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘सन् १९०८ मा न्युयोर्क सिटीमा १५ हजार महिलाले कामको घन्टा छोट्ट्याउन, तलब वृद्धि गर्न र मतदानको अधिकार प्राप्त गर्ने उद्देश्यले सुरु गरेको प्रदर्शन र पुँजीवादी सत्तालाई झुकाएर सीमित नै भए पनि महिला अधिकार प्राप्त गरेको सन्दर्भले संसारकै श्रमिक महिलालाई अधिकारका लागि निरन्तर सङ्घर्ष गर्नुपर्छ र आफ्नो मुक्तिका लागि आफैँ सङ्घर्षमा होमिनुपर्छ भन्ने पाठ सिकाएको छ । त्यसैले आज संसारभरका श्रमिक, उत्पीडित महिला आफ्नो वर्गमाथिको शोषणबाट मुक्ति प्राप्त गर्न सङ्गठित भएर सङ्घर्षमा होमिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सामन्ती शोषणदेखि पुँजीवादी दमन–उत्पीडनसम्मका शृङ्खलाका कारण अझै पनि श्रमिक महिलाका लागि कुनै पनि क्षेत्रमा पुरुषसरह अधिकार र मान्यता स्थापित भएका छैनन् । श्रम शोषण मात्र नभएर बलात्कार, हत्या, हिंसाका अनन्त चक्रव्यूहहरू रचना गरिएका छन् । त्यसैले सबैखाले शोषण, दमन र उत्पीडनबाट मुक्त हुन श्रमिक महिलाहरूले आफूलाई वैचारिक रूपमा सुदृढ बनाउनुपर्छ, मालेमामा आबद्ध हुनुपर्छ र निरन्तर सङ्घर्ष अघि बढाउनुपर्छ । अतः ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मुक्तिका लागि विभिन्न रूपका सङ्घर्षमा सामेल क्रान्तिकारी, श्रमिक, उत्पीडित महिलामा निरन्तर क्रान्तिको ऊर्जा बनोस् भन्ने अपेक्षा गर्दछौँ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस क्लारा जेट्किन, रोजा लक्जेम्बर्ग, कोलोन्ताईजस्ता साम्यवादी वीराङ्गनाहरूले सङ्घर्ष र क्रान्तिसहित स्थापना गरेको ऐतिहासिक दिवस हो । यो दिवसबाट प्रेरित महिलाहरूको सहभागिताले नै सोभियत सङ्घ, मङ्गोलिया, जर्मनी, युगोस्लाभिया, चेकोस्लोभाकिया, बुल्गेरिया, हंगेरी, रुमानिया, पोल्यान्ड, चीन, कोरिया, क्युबा, भियतनाम र कम्बोडियामा वैज्ञानिक समाजवाद स्थापना भएको थियो । यस अवसरमा लेनिनले भन्नुभएजस्तै हाम्रो पार्टीका तर्फबाट हामी भन्न चाहन्छौँ– आजको दिनमा श्रमिक महिलाहरूले वर्गसङ्घर्षको मैदानमा भाग लिँदै आफ्ना छोराछोरीहरूलाई भन्नुपर्दछ– छिटोछिटो हुर्क र युद्धकला सिक किनभने श्रमिक वर्गका दुस्मनहरू तिम्रा आमाबुबाहरूलाई आफ्नो नियन्त्रणमा लिन र हत्यासमेत गर्न बन्दुक लिएर तयार छन् । लेनिनले भन्नुभएजस्तै उत्पीडित वर्गका मानिसहरूले बन्दुक चलाउन नसिक्नु भनेको दासको व्यवहार गर्न लायक हुनु हो । हामी नेपाली श्रमजीवी महिला र तिनका नेताहरूलाई नेपालको वर्तमान संवेदनशील वर्गसङ्घर्षमा सचेततापूर्वक वैज्ञानिक समाजवादको लक्ष्यमा अडिग रही भाग लिन र विजय नभएसम्म अघि बढ्न विशेष आह्वान गर्दछौँ ।