११ श्रावण २०८१, शनिबार

उपसभामुख मा इन्दिरा राना निर्वाचित

७ माघ काठमाडौं ।राष्ट्रिय सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत परेकाे थियोे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

रानाकाे पृष्ठभूमि

राजनीतिक क्षेत्रका लागि रानामगरको नाम नौलो हो । तर उनी सामाजिक क्षेत्रमा भने अब्बल र कुशल नेतृत्वका रूपमा स्थापित भइसकेकी नेता हुन् ।

साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छिन् । बालबालिकाको स्याहार र शिक्षा दिक्षामा गरेको सहयोगले उनलाई नेपालमा मात्रै होइन, विश्वभर चिनाएको छ ।

सुरुवाति चरणमा काठमाडौं आएर एक विद्यालयमा शिक्षिकाका रूपमा समेत काम गरिन् उनले । त्यतिबेलै मानवअधिकार अभियन्तासमेत रहेकी साहित्यकार पारिजातसँग उनको भेट भयो । पारिजात कारागारमा रहेका राजबन्दीहरूको अधिकारका लागि लडिरहेकी थिइन् । पारिजातले नै आफूलाई कारागारहरूमा लगेर आफ्ना काम चिनाएको इन्दिरा बताउँछिन् । त्यति बेलादेखि नै नेपालको न्याय प्रणालीसँग उनी परिचित भइन् । त्यसपछि उनी कैदीबन्दीको अधिकारका लागि सक्रिय भएर लागिन्।

०२७ सालमा झापाको शनिश्चरेमा सामान्य परिवारमा जन्मिएकी उनी आफैँ भने १० वर्षसम्म विद्यालय टेक्न पाइनन् । ढिला विद्यालय भर्ना भए पनि उनले स्नातकसम्मको पढाइ पूरा गरेकी छिन् । उनका बुवाआमा उदयपुरबाट झापा बसाइ सरेका थिए । ६ सन्तानमध्ये सबैभन्दा कान्छी उनलाई परिवारले ढिलामात्र विद्यालय पठाएको थियो । उनले अक्षरहरू भने दाजुहरूसँगै सिकेकी हुन् । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैँ धुलोमा अक्षर कोेरेर प्रारम्भिक शिक्षा हासिल गरेकी इन्दिरा अहिले धेरै बालबालिकाको भविष्य उज्ज्वल बनाइरहेकी छन् । रानाको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । यतिबेला उनको संस्थाले करिब १ हजार ५ सय बालबालिकाको हेरचाह गरिरहेको छ । उनलाई सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पनि प्रदान गरेकी थिइन् ।

सन् २००५ मै ‘अशोका फेलो’ पाएकी उनी दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित छिन् । उनले २००९ मा एसियाका शीर्ष २१ नेतृत्वले पाएको जनसेवा अवार्ड पाइन् भने सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाहरूको सूचीमा परेकी थिइन् ।