११ श्रावण २०८१, शनिबार

पाँच ट्रेड युनियन महासंघद्धारा चुनाव बहिस्कार गर्ने घोषणा

     काठमाडौं,  चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।

रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता,जनतन्त्र र जनजीविकाविरुद्ध हुने जनाएको छ ।

क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले संयुक्त रुपमा चुनाव बहिस्कार घोषणा गरेका हुन् ।
निर्वाचनको नाममा साम्राज्यवाद–विस्तारवादका दलाल एवं थैलिपतिहरुद्धारा गरिएको फगत कार्टेलिङ प्रहसन मात्र भएको युनियनहरुको ठहर छ ।

ट्रेड युनियन संघर्ष समिति श्रमिकवर्गका मुक्ति, न्याय र समानताका निम्ति अधिक कठोर संघर्षको नेतृत्व गर्न पनि दृढ रहेको बताइएको छ ।
हिजाे साेमबहार     पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिनाले देश अत्यन्तै संकटग्रस्त अवस्थामा गुज्रिरहेको बताएका छन् । संकटका कारण मुलुकमा रोजगारी श्रृजना गर्न र व्यापार व्यवसायहरु बढाउन नसकेको बताए । उनले भने,‘व्यापार व्यवसायहरु टाट पल्टेका छन्, बैंक वित्तिय संस्थाहरु चल्नै नसक्ने अवस्थामा रहेका छन् र उनीहरुको दैनिक कारोबार बन्द भइसकेका छन् तैपनि शासक वर्गहरुले कथित निर्वाचनको नाटक देखाइरहेका छन् ।’

उनले अहिलेको निर्वाचन प्रणाली पैसा खर्च नगरी कुनै पनि प्रतिफल लिन नसकिने अवस्थामा पुगेको बताए । राजनीतिमा अस्वस्थ्य ढंगको प्रतिस्पर्धा भइरहेको उनको भनाइ थियो ।

यसैगरी,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद थापाले मंसिर ४ गते हुने निर्वाचन नेपाली जनताको लागि उपयुक्त नभएको टिप्पणी गरेका छन् । चुनाव जितेपछि गाउँ नर्फकने नेताहरु अहिले झोली बोकेर गाउँ–गाउँ पुगिरहेको उनले सुनाए ।

अहिलेको व्यवस्थालाई दलालको संज्ञा दिँदै उनले सोही राजनीतिक व्यवस्था विगत ३० वर्षदेखि देशमा कायम भइरहेको उनको भनाइ थियो ।
विभिन्न दलका नेताहरुले मजदुरहरुलाई झुटा नारा दिएर झुक्काइरहेको भन्दै उनले दुखेसो पोखे । एमसीसी, एसपीपी समर्थन गर्नेहरु नक्कली प्रतिवद्धतापत्र लिएर जनतामाझ गइरहेको भन्दै उनले जनताले चुनाव वहिस्कार गर्नुपर्ने धारणा राखे । उनले भने,‘चुनावमा भोट दिनु भनेको फेरी ५ वर्ष देशलाई भुमरीमा पार्नु हो ।’

मजदुरले न्याय नपाएसम्म आफूहरुको आन्दोलन जारी रहने समेत उनले स्पट पारे । मजदुर वर्गको हितमा काम नगर्ने नेताहरुलाई गाउँबाट लखेट्नुपर्ने बताए । देशभरका ट्रेड युनियनहरु मंसिर ४ गते हुने निर्वाचनको खारेजीमा जुट्नुपर्ने र मजदुरहरु घरमा हात बाँधेर बस्नुपर्नेमा उनले जोड दिए ।