११ श्रावण २०८१, शनिबार

१११ मेगावाटको रसुवागढी आयोजनामा धमाधम उपकरण जडान

१३ कार्तिक काठमाडौं , रसुवा — उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालु आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ ।  भूमिगत संरचनाबाट १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको छ ।
जडान भइरहेका तीन वटा टर्वाइनबाट क्रमिकरूपले आगामी चैतदेखि परीक्षण सुरू गरिनेछ । साथै, चालु आर्थिक वर्षभित्रै तीन वटै युनिटबाट विद्युत् ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नका लागि प्राविधिकहरु जुटेका हुन् । भूमिगतरूपले हिमाली जिल्ला रसुवाको भिरपाखोमा नमूनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपश्चात् प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्‌कै प्राविधिक समूहले सन् २०१३ बाट निर्माणको अगुवाइ लिएको थियो ।

चिलिमेको निर्मातामध्येका एक सदस्य एवम् रसुवागढी जलविद्युत् कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक माधव कोइरालाको एकल डिजाइन रहेको १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना भौगोलिक असहजताकै कारण निर्माणमा ढिलाइ भएको थियो । रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानमा छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका कारण २०७९ सालभित्रै परीक्षण उत्पादन गराउने लक्ष्य लिइ प्राविधिक समूहले काम गरिरहेको हो ।

उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन् । उपकरण जडानमा भोइथ इण्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको इलेक्ट्रिकलका वरिष्ठ महाशाखा प्रमुख ई महेन्द्रप्रसाद यादवले बताए । भोटेकोसी खोलाको बाँध, चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरूङ सर्चटैंक, पेनस्टक, टेलरेस सुरूङ, भोटेकोसीबाट पानीसँगै सुरूङमा पस्ने बालुवालाई थिग्राउने पोखरीका सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम अगाडि बढेको रसुवागढी जलविद्युत् कम्पनीका सचिव नरनाथ न्यौपानेले बताए