११ श्रावण २०८१, शनिबार

मासिक ३० लाखभन्दा बढी आम्दानी गर्छन कृषि फर्मबाट किसानले,

१३ कार्तिक काठमाडौं । ताप्लेजुङ , फुङलिङ नगरपालिका–७, दोखुका दिलकुमार मेन्याङ्बोले कृषि र पशुपालन व्यवसाय सुरु गरेको १४ वर्ष पूरा भएको छ । पाथीभरा याङ्बरक गाउँपालिका थेचम्बु घर भएका मेन्याङ्बोले सुरुवातमा विद्यार्थी राजनीतिसँगै सदरमुकाम फुङलिङमा कपडा पसल गरेका थिए ।

कपडा पसलको कमाइ चित्तबुझ्दो नभएपछि ७५ हजारमा सुरु गरेको कृषि व्यवसायमा लाख हुँदै अहिले एक करोडभन्दा बढी लगानी छ । करिब एक सय २० रोपनी जग्गामा तीन दर्जन गाई र दुई दर्जन सुँगुरका माउ पालेर वार्षिक ३० देखि ४० लाख आम्दानी गर्न सफल भएको उनी बताउँछन् । त्यस्तै, सयवटा टनेलमा टमाटर खेती लगाएका छन् ।

ताप्लेजुङ सदरमुकाम नजिकै रहेको सयवटा टनेलमा टमाटर खेती गरेका उनले बजारबाट माग आउनेबित्तिकै टिपेर लैजाने गरेको बताए ।  मेन्याङ्बोको दैनिकी कृषि कर्ममै बित्छ ।

अखिल नेपाल विद्यार्थी संगठनको जिल्ला कमिटी अध्यक्ष हुँदै नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटी सदस्यसमेत बनेका मेन्याङ्बो राजनीतिलाई तिलाञ्जली दिएर १४ वर्षअगाडि कृषि पेसामा लागेका हुन् । राजनीतिको खिचातानी खुट्टा तानातान देखेर वाक्क भएको उनको भनाइ छ । तर, भविष्यका लागि सुरक्षित जीवन जिउन सक्ने पेसा ठानेर कृषि र पशुपालन व्यवसायमा लगानी जुटाएर सुरु गरेको हो ।

विगत सात वर्षदेखि श्रीमती र दुईजना छोराछोरीसँगै फार्ममै बस्दै आएका उनले र श्रीमतीले मासिक तलब बुझ्छन् । तलबले घर–व्यवहार चलाउन र छोराछोरी पढाउने गर्छन् । आफूले जस्तै अरू सातजनाले पनि रोजगारीसँगै सीप सिकेकाले भविष्यमा लगानी जुटाउन सके आफैँ व्यवसायी बन्ने मनसायमा पुगेको उनले बताए । यस फार्ममा काम गर्दा कृषिसम्बन्धी सबै जानकारी गरेको र मेरा लागि एउटा विद्यालय नै भएको उनले बताए । अब लगानी भए आफूले कृषिसम्बन्धी काम गर्न सक्ने भएको समेत थुलुङले बताए । उनको फार्ममा अहिले परिवारसहित १० जनाले रोजगारी पाएका छन् ।

कृषि र पशुपालन व्यवसायबाट नाम र दाम दुवै कमाएका छन् । १४ वर्षको अवधिमा उनको फार्ममा थुप्रैले सीप सिकेर आफैँ उद्यमी बनेका छन् । आम्दानी र इच्छाअनुसार पेसा गर्न पाएकोमा मेन्याङ्बोलाई सन्तुष्टि मिलेको छ ।