२०८३ श्रावण ३, आइतवार

प्रभातको बधाई तथा बिदाइ समारोह सम्पन्न

-माधव घिमिरे ‘अटल’

राजधानीको मुटु क्षेत्रपाटी, न:घलमा अवस्थित प्रभात माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा समुत्तीर्ण भएका विद्यार्थीहरूको बिदाइ सुसम्पन्न गरे सँगै विभिन्न दाताहरूद्वारा प्रायोजित छात्रवृत्ति पनि वितरण गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेसनलका ‘इन्डोर्सी अफ इन्टरनेसनल डिरेक्टर’ कयाम उद्दिनले यही विद्यालयबाट आफूले शिक्षा हासिल गरेको भन्दै विद्यार्थीहरूलाई मेहनतले मात्र सफलता हासिल गर्न सम्भव हुने तर्क गर्नुभयो । मेहनतको कुनै विकल्प नरहेको कयाम उद्दिनको कथन थियो । अत्यन्त ऊर्जाशील इतिहास बोकेको विद्यालयले आफ्नो गुणस्तरीयतामा ह्रास ल्याउने छुट नभएको भन्दै त्यसका निम्ति आफूहरूले विद्यालयबाहिर रहेर गर्न सक्ने र मिल्ने जुनसुकै त्याग गर्न तयार रहेको उद्दिनले अवगत गराउनुभयो ।

त्यसरी नै व्यवस्थापन समितिका सल्लाहकार तथा पूर्व प्रअ नातिकाजी महर्जनले साढे तीन दशक लामो आफ्नो नेतृत्वमा विद्यालयले गुणस्तरीय शिक्षामा ईर्ष्यालाग्दो फड्को मारेको बताउँदै पुनः विगतझैँ नतिजामा आमूल सुधार गर्न सल्लाह दिनुभयो । उहाँले आगामी दिनमा शैक्षिक सुधारका कुनै पनि विषयमा विद्यालय पछि पर्न नहुने महर्जनको सुझाव थियो ।

विद्यालयका प्रधानाध्यापक राजेश्वरमान श्रेष्ठले यो वर्ष अलिक अनपेक्षित नतिजा आए पनि अर्को वर्ष उल्लेख्य सुधार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो बिदाइ चाहिँ अस्थायी हुने भन्दै आगामी दिनमा विद्यार्थीका प्रगति र भलाइका निम्ति आफू वा विद्यालयले गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने वाचा गर्नुभयो ।

शिक्षक लीला चौलागाईंले सहजीकरण गरेको सो समारोहको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कामपा- २५ वडाका वडाध्यक्ष राजेश डङ्गोलले अत्यावश्यक भौतिक सामग्री लगायतका पूर्वाधार निर्माण गर्न आफू तम्तयार रहेको जनाउ दिँदै कार्यक्रमको बिट मार्नुभयो ।

औपचारिक कार्यक्रम समापन पश्चात् बिदाइ गरिएका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई थप मनोरञ्जक बनाएका थिए ।