२०८३ असार २६, शुक्रवार

चक्रपथ सरसफाई महाअभियानका नियमित अभियन्तालाई ॐ बुद्ध डेन्टलको विशेष सम्मान, निःशुल्क दन्त परीक्षणदेखि २० प्रतिशतसम्म छुट

काठमाडौं। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासस्थित ॐ बुद्ध डेन्टल प्रा.लि. ले चक्रपथ सरसफाई महाअभियानका नियमित तथा सक्रिय अभियन्ताका लागि विशेष स्वास्थ्य सेवा तथा छुट योजना सार्वजनिक गरेको छ।

संस्थाले वातावरण संरक्षण र सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएका अभियन्ताहरूको सम्मानस्वरूप निःशुल्क दन्त परीक्षण तथा दन्त उपचार सेवामा २० प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको हो। यस योजनाबाट लामो समयदेखि चक्रपथ सरसफाई महाअभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएका अभियन्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

२०७४ साल वैशाख २ गतेदेखि “स्वच्छ वातावरण, स्वस्थ नागरिक” भन्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको चक्रपथ सरसफाई महाअभियानले काठमाडौं उपत्यकामा वातावरणीय सरसफाइ, जनचेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। यही अभियानसँग सुरुदेखि नै सहकार्य गर्दै आएको ॐ बुद्ध डेन्टल प्रा.लि.ले समय–समयमा मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम, निःशुल्क दन्त परीक्षण शिविर तथा स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ।

डेन्टलका सञ्चालक डा. पुष्कर काफ्लेका अनुसार वातावरण संरक्षणमा निरन्तर योगदान पुर्‍याउने अभियन्ताहरूको स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण भएकाले उनीहरूको सम्मानस्वरूप यो विशेष सुविधा ल्याइएको हो। उहाँले सामाजिक सेवामा समर्पित व्यक्तिहरूको मनोबल बढाउन निजी स्वास्थ्य संस्थाहरूले पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

यसैबीच, हालै सेवा विस्तार गरिएको ॐ बुद्ध आई क्लिनिक मार्फत पनि चक्रपथ सरसफाई महाअभियानका सक्रिय अभियन्ताहरूलाई निःशुल्क आँखा परीक्षण तथा आँखा सम्बन्धी अन्य सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध गराइने भएको छ। यसबाट अभियन्ताहरूले दन्त र आँखा दुवै स्वास्थ्य सेवामा सहज पहुँच पाउने विश्वास लिइएको छ।

सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ॐ बुद्ध डेन्टल प्रा.लि.ले पत्रकार तथा चक्रपथ सरसफाई महाअभियानका सक्रिय अभियन्ता डि.बि. पराजुलीलाई यस कार्यक्रमको सहजकर्ताको जिम्मेवारी दिएको जनाएको छ। उहाँमार्फत योग्य अभियन्ताहरूको पहिचान, समन्वय तथा सेवा उपलब्ध गराउने प्रक्रिया व्यवस्थित गरिनेछ।

यस योजनालाई अझ प्रभावकारी बनाउन निकट भविष्यमा अभियानमा नियमित रूपमा सहभागी हुने अभियन्ताहरूका लागि विशेष छुट कार्ड (Discount Card) समेत वितरण गरिने तयारी भइरहेको डेन्टलले जनाएको छ। उक्त कार्डका आधारमा अभियन्ताहरूले सहज रूपमा निःशुल्क परीक्षण तथा छुट सुविधाको लाभ लिन सक्नेछन्।

यो सेवा ॐ बुद्ध डेन्टल प्रा.लि. को चाबहिलमा रहेको शाखा बाट पनि लिन सकिने डा.पुष्कर काफ्लेले जानकारी गराउनु भएको छ । यसको लागि अभियन्ताहरुले डा. पुष्कर काफ्लेको सम्पर्क नं. ९८४१४४१८०६ मा सम्पर्क समेत गर्न सकिने जानकारी दिईएको छ ।

सामाजिक सेवामा समर्पित व्यक्तिहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर ल्याइएको यो योजना निजी स्वास्थ्य संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको उदाहरणीय कार्यक्रमका रूपमा हेरिएको छ। वातावरण संरक्षणमा सक्रिय नागरिकहरूको योगदानको सम्मान गर्दै उनीहरूको स्वास्थ्यमा समेत साथ दिने ॐ बुद्ध डेन्टलको यो पहलले अन्य संस्थाहरूलाई पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।