सुर्खेत: दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गमा यात्रुबाहक माइक्रो गाडी दुर्घटनामा परेको छ।
बिहीबार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स माइक्रो गाडी सडकबाट करिब चार सय मिटर तल खसेर कर्णाली नदीमा डुबेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त गाडीका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी रहेको प्रारम्भिक जानकारी रहेकाे प्रहरीकाे भनाइ छ । गाडीमा चालकसहित पाँच जना सवार रहेको बताइएको छ।
घटनास्थलबाट एक जना पुरुषलाई फेला पारेर सडकतर्फ ल्याउने कार्य भइरहेको छ। अन्य सवारको खोजी तथा उद्धार कार्य जारी छ । घटनाबारे थप विवरण आउन बाँकी छ।
