काठमाडौं । विद्यालय शिक्षण पाठ्यपुस्तकमा सीमित पेशा होइन, यो मानसिक धैर्यता, भावनात्मक सन्तुलन र निरन्तर जिम्मेवारीसँग जोडिएको क्षेत्र पनि हो । यही यथार्थलाई केन्द्रमा राख्दै मानसिक स्वास्थ्य तथा जीवनोपयोगी शिक्षाको क्षेत्रमा सक्रिय Mind Plus ले शिक्षकहरूको मानसिक सुदृढीकरणका लागि विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
राजधानीको Honey Bee Montessori School सँगको सहकार्यमा आयोजित एकदिने “कार्यस्थलगत थकान तथा तनाव व्यवस्थापन” सम्बन्धी तालिममा विद्यालयका शिक्षक तथा कर्मचारी सहभागी भएका थिए ।
विद्यालयकी प्रिन्सिपल Kamala Ghimire Adhikari ले शिक्षकहरूको मनोबल उच्च राख्ने, उनीहरूलाई पुनर्ताजगी गराउने तथा कार्यक्षमतामा सकारात्मक ऊर्जा थप्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार विद्यालयमा सिकाइको गुणस्तर बढाउन शिक्षकको मानसिक स्वास्थ्य सुदृढ हुनु अत्यावश्यक पक्ष हो ।
कार्यक्रमको सहजीकरण मनोविमर्शकर्ता तथा जीवन प्रशिक्षक Nabin Pallav ले गर्नुभएको थियो । उहाँले शिक्षकहरूले दैनिक रूपमा भोग्ने मानसिक दबाब, जिम्मेवारी र सामाजिक अपेक्षाबारे चर्चा गर्दै तनाव व्यवस्थापनका व्यावहारिक उपाय प्रस्तुत गर्नुभयो ।
प्रशिक्षक पल्लवले अभिभावक र समाजले शिक्षकहरूको मनोविज्ञान बुझ्न अझै पर्याप्त ध्यान नदिएको उल्लेख गर्दै शिक्षकलाई हौसला, सम्मान र सकारात्मक वातावरण आवश्यक पर्ने धारणा राख्नुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमले शिक्षकहरूलाई केवल तनाव कम गर्न मात्र होइन, आत्मविश्वास र प्रेरणा पुनः जागृत गर्न समेत सहयोग पुर्याउने गर्दछ ।
तालिममा सहभागी शिक्षकहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले आफूहरूमा नयाँ ऊर्जा र थप उत्साह पैदा गरेको प्रतिक्रिया दिएका छन् ।
मानसिक स्वास्थ्य सचेतनालाई विभिन्न पेशागत क्षेत्रमा विस्तार गर्ने उद्देश्यसहित Mind Plus ले पछिल्लो समय “Mind Plus with School” र “Mind Plus Health for Health Worker” नामक परियोजनाहरू अघि बढाएको छ । संस्थाले विद्यालय, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था तथा विभिन्न पेशागत निकायसँग सहकार्य गर्दै मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

