१० जेष्ठ २०८३, आईतवार

मुकुन्द रिजाल स्मृति कपको धमाकेदार सुरुवात, उद्घाटन खेलमै वडा–१६ को शानदार विजय

काठमाडौं । लैनचौरस्थित खेलमैदान शनिबार केवल फुटबल प्रतियोगिताको उद्घाटनस्थल मात्र बनेन, स्वर्गीय वडा अध्यक्ष मुकुन्द रिजालप्रतिको सम्मान, सम्झना र भावनाको केन्द्रसमेत बन्यो। काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा सुरु भएको “वडा स्तरीय स्व. श्री मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता–२०८३” ले खेलकुदसँगै एक असल जनप्रतिनिधिको योगदानलाई पुनः स्मरण गराएको छ।

कार्यक्रमको उद्घाटन वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठले स्वर्गीय मुकुन्द रिजालको तस्बिरमा माल्यार्पण गर्दै तथा पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो। उद्घाटन समारोहमा स्व. रिजालकी धर्मपत्नी कविता आचार्य रिजाल, उहाँका छोराहरू, परिवारजन, आफन्त तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन समारोह भावनाले भरिएको थियो। आफ्ना श्रीमानको स्मृतिमा आयोजित प्रतियोगिताले आफू र आफ्नो परिवारलाई अत्यन्तै भावुक बनाएको भन्दै कविता आचार्य रिजालले वडा नं. १६ परिवारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

“मेरो श्रीमानलाई यसरी सम्झेर उहाँको योगदानको सम्मान गरिएको छ। यसले हाम्रो परिवारलाई ऋणी बनाएको छ। उहाँले समाजका लागि देख्नुभएको सपना अझै पनि जीवित छ भन्ने अनुभूति भएको छ,” उहाँले भावुक हुँदै भन्नुभयो।

उद्घाटन खेलमा आयोजक वडा नं. १६ ले उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. १० लाई २–० गोलअन्तरले पराजित गर्‍यो। घरेलु टोलीका खेलाडीहरूले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै दर्शकको मन जितेका थिए।

त्यसैगरी दोस्रो खेलमा वडा नं. ५ ले वडा नं. १९ माथि ३–० को सानदार जित निकाल्दै प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रोजिना श्रेष्ठले स्वर्गीय मुकुन्द रिजालको व्यक्तित्वलाई स्मरण गर्नुभयो। उहाँले राजनीतिक व्यक्तित्वभन्दा सामाजिक छवि बलियो भएका नेताको रूपमा रिजाललाई सम्झिँदै वडाको विकासका लागि उहाँले देखेका सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“उहाँको सबैभन्दा ठूलो शक्ति जनतासँगको आत्मीय सम्बन्ध थियो। उहाँको सपना र दृष्टिकोणलाई हामीले निरन्तरता दिनेछौँ,” श्रेष्ठले बताउनुभयो।

कार्यक्रममा वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले खेलकुदले वडाहरूबीचको सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि स्थानीय तहबाटै खेलकुदको जग बस्नुपर्नेमा जोड दिनुभयो।

“स्वर्गीय मुकुन्द रिजाल दूरदर्शी नेतृत्वका धनी व्यक्ति हुनुहुन्थ्यो। उहाँको योगदानलाई खेलकुदमार्फत स्मरण गर्नु अत्यन्तै सकारात्मक कदम हो,” तिवारीले भन्नुभयो।

२०७९ सालको स्थानीय तह निर्वाचनबाट दोस्रो पटक वडा नं. १६ को अध्यक्षमा निर्वाचित मुकुन्द रिजाल २०८० भदौ २१ गते असामयिक रूपमा परलोक हुनुभएको थियो। उहाँ महानगर कार्यपालिका अन्तर्गत पूर्वाधार समितिको संयोजकको जिम्मेवारीमा समेत रहनुभएको थियो। विकासप्रेमी, सरल र जनतासँग नजिक रहने नेताको रूपमा उहाँले आफ्नो छुट्टै पहिचान बनाउनुभएको थियो।

आजबाट सुरु भएको प्रतियोगिता लगातार पाँच दिनसम्म सञ्चालन हुनेछ। खेलकुदको माध्यमबाट स्वर्गीय मुकुन्द रिजालको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रलाई नयाँ ऊर्जा दिएको छ।