४ जेष्ठ २०८३, सोमबार

समाजवादी कम्युनिस्ट पार्टी नेपालले अशाेक सुवेदीलाई पदमुक्त गरेकाे छ

काठमाडौं :पूर्णबहादुर सिंह समरजङ्ग नेतृत्वको समाजवादी कम्युनिष्ट पार्टी नेपालले स्थायी समिति सदस्य अशोक सुवेदीलाई पदमुक्त गरेको छ ।

पार्टीले विधानको ७३ (१) अनुसार सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ ।अनुशासन पालना गर्न यसअघि बारम्बार सचेत गराइए पनि सुवेदीले लगातार उल्लघंन गर्दै आएको पार्टीको निष्कर्ष छ । सुवेदीविरुद्ध पार्टीका तल्लो तहका नेताहरुले अनुशासनहीन र भँडुवा गतिविधिहरू गरेको उजुरी दिएको अवगत गराउँदै कार्यालय सचिव शालिनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीले उहाँबाट गरेको आशा र भरोसा विपरीत उहाँले पाटी विरोधी गतिविधि बढाउँदै लिएपछि उहाँको बारेमा उपयुक्त निर्णय लिन पार्टी बाध्य भएको छ ।’

सुवेदीले आफ्ना कमजोरी, अराजक चिन्तन र भँडुवा प्रवृत्तिलाई ढाकछोप गर्न गुटबन्दी गरेको पनि पार्टीको ठहर छ । ‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर पनि पार्टी काममा लामो समयदेखि निष्क्रिय रहेको अवगत गर्दै यी सबै घटनाक्रमबाट कमरेड अशोक प्रसाद सुवेदीले पार्टीको अनुशासन उल्लङ्घन गरेको र गुटबन्दीजन्य गरिविधि गरेको पुष्टि हुन्छ’, पत्रमा उल्लेख छ ।

कमरेड अशोक प्रसाद सुवेदीबारे

उपर्युक्त सम्बन्धमा हाम्रो पार्टीका स्थायी समिति सदस्य कमरेड अशोक प्रसाद सुवेदीबारे लिइएको निर्णय यसै विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।

१. कमरेड अशोक प्रसाद सुवेदी हाम्रो पार्टी निर्माणसँगै स्थायी समितिको जिम्मेवारीमा नेताको हैसियतले आफ्नो सिमाभित्र रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो । पार्टी निर्माण प्रक्रिया र त्यसपछिका दिनहरूमा उहाँले पार्टी र आन्दोलनमा गर्नुभएको योगदानको उचित सम्मान गर्दै क्रान्तिकारी रूपान्तरणको प्रक्रियामा गरिएको सामूहिक प्रतिबद्धताप्रति पार्टी दृढ रहेको जानकारी गराउँदछौं ।

२. पार्टी निर्माण प्रक्रियासँगै कमरेड अशोक प्रसाद सुवेदीमा देखा परेका कतिपयः अनुशासनहीन र भँडुवा गतिविधिहरूमाथि विभिन्न तहमा रहनुभएका जिम्मेवार कमरेडहरूले प्रश्न उठाउने, कारबाहीको माग गर्ने आदि गर्दै आउनु भएको थियो। पार्टी नेतृत्वले कमरेड अशोक प्रसाद सुवेदीसँग बसेर ती समस्याहरूलाई समाधान गर्न तथा सच्याउन पटकपटक छलफल गरेको, स्थायी समिति र राजनीतिक समितिको बैठकमा पनि यी विषयमाथि पटकपटक छलफल भएको र विधिसम्मत ढङ्गले चल्न अनुरोध गरेको विषयलाई समेत बेवास्ता गरी उहाँले गुटबन्दीजन्य गतिविधि चलाउन थाल्नु भयो ।

३. यसै सन्दर्भमा पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक आयोजना गरी पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपले नयाँ ढाँचामा विकसित गर्ने उद्देश्यले ‘नयाँ विचार पाठशाला’ को अवधारणा अनुरूप केही महत्वपूर्ण दस्तावेजहरू प्रस्तुत गर्यो । कमरेड अशोकले आफ्ना कमजोरी, अराजक चिन्तन र भँडुवा प्रवृत्तिलाई ढाकछोप गर्ने कभरको रूपमा ‘नयाँ विचार पाठशाला’को अवधारणा अनुरूप प्रस्तुत दस्तावेजहरूमाथि ‘असहमति’ प्रकट गर्नुभयो। अर्थात् आफ्नो खराबीलाई राजनीतिकरण गरेर उम्किने जानेमानेको बासी उपायको सहारा लिनुभयो। यति हुँदाहुँदै पनि पार्टीले उहाँका विमतिको सम्मान गर्दै उहाँको मत सुरक्षित गर्ने र उपयुक्त विधिमा समाधान खोज्ने जनवादी केन्द्रीयताको भरपूर अभ्यासमार्फत उहाँलाई सुधार्ने प्रयास जारी राख्यो ।

४. पार्टीले कमरेड अशोक प्रसाद सुवेदीलाई रूपान्तरण गर्न यसबिचमा धेरै मेहनत गरेको छ। उहाँको व्यवस्थापनतर्फ पनि ठुलो लगानी गरेको छ। उहाँकै खराबीको कारण उहाँमाथि पार्टीका जिम्मेवार कमरेडले झापड हान्दासमेत पार्टीले उहाँको संरक्षण गरेको हो। पार्टीले उहाँबाट गरेको आशा र भरोसा विपरीत उहाँले पाटी विरोधी गतिविधि बढाउँदै लिएपछि उहाँको बारेमा उपयुक्त निर्णय लिन पार्टी बाध्य भएको छ।

५. कमरेड अशोक प्रसाद सुवेदी पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर पनि पार्टी काममा लामो समयदेखि निष्क्रिय रहेको अवगत गर्दै यी सबै घटनाक्रमबाट कमरेड अशोक प्रसाद सुवेदीले पार्टीको अनुशासन उल्लङ्घन गरेको र गुटबन्दीजन्य गरिविधि गरेको पुष्टि हुन्छ। यो ठहरकासाथ उहाँलाई पार्टी विधानको धारा ७३ (१) बमोजिम पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।

शालीन,
कार्यालय सचिव

पदमुक्त गरेकाे पत्र यस्तो छ :