काठमाडौं / सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले सिन्धुपाल्चोकका चर्चित नेता निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन्। केही दिनअघि एमाले परित्यागको घोषणा गरेका शेर्पा शुक्रबार काठमाडौंमा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन्।
नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय तथा प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा आयोजित कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व सभामुख अग्निप्रसाद सापकोटा लगायतका शीर्ष नेताहरूले शेर्पालाई स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै शेर्पाले एमालेभित्र आफूले भोग्नुपरेको पीडा सार्वजनिक गरे। प्रदेश कमिटी सदस्यको हैसियतमा स्पष्टीकरण दिँदा ‘सबै कुरा मिल्यो’ भनिए पनि पछि जानकारीबिनै कारबाही गरिएको थाहा पाएको उनले बताए। “महाधिवेशन प्रतिनिधि बन्न पार्टी कार्यालय जाँदा ममाथि कारबाही भइसकेको जानकारी पाएँ। सार्वजनिक कार्यक्रममा समेत सहभागी हुन नपाइने अवस्था बनाइयो,” उनले भने।
शेर्पाले भने, आफूले नारा, झण्डा, इतिहास र योगदान मनमै छाडेर बाहिरिनुपरेको पीडा हजारौं कार्यकर्ताको दबिएको आवाज भएको बताए। उनका अनुसार राजनीति पदको खेल होइन, विश्वासको यात्रा हो, र विश्वास तोडिँदा त्यसको चोट पुस्तौँसम्म रहने गर्छ।
नेकपाका नेताहरूले शेर्पाको प्रवेशले सिन्धुपाल्चोकमा पार्टीको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे। कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार माधव सापकोटा ‘सुबोध’, समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, भगवती नेपाल लगायत जिल्लाका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
शेर्पासँगै एमालेका ठूलो संख्याका स्थानीय नेता तथा कार्यकर्ताहरू पनि नेकपामा समाहित भएका छन्। यसलाई आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा पार्टीको आधार विस्तार र एकता सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, एकीकृत कम्युनिष्ट शक्ति र नयाँ पुस्ताको आकांक्षाबीचको तालमेल नै यसपटकको निर्वाचन परिणाम निर्धारण गर्ने निर्णायक कडी बन्न सक्ने देखिन्छ।

