काठमाडौं । धादिङ उद्योग वाणिज्य संघ, धादिङको आयोजनामा यही माघ २० गते सम्पन्न दशौँ धादिङ महोत्सवमा चर्चित गायक तथा संगीतकार चेतन राईले आफ्नो आकर्षक प्रस्तुति मार्फत दर्शकलाई मोहित बनाएका छन्। करिब आधा घण्टासम्म चलेको सांगीतिक प्रस्तुतिमा राईले महोत्सवमा सहभागी दर्शकलाई उत्साहित बनाएका हुन्।
विगत डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएका राईले हालसम्म ६ दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन्। उनले गाउने अधिकांश गीतमा शब्द रचना तथा संगीत स्वयं गर्ने गरेका छन् भने म्युजिक भिडियो निर्देशन तथा अभिनयमा समेत सक्रिय छन्।
विशेषगरी पप तथा आधुनिक शैलीका गीत गाउन रुचाउने राई सांगीतिक प्रस्तुतिकै सिलसिलामा देशका विभिन्न स्थानका साथै जापान, दुबई र बैंककजस्ता विदेशी मुलुकमा समेत पुगिसकेका छन्।
विभिन्न मेला, महोत्सव तथा सांगीतिक कार्यक्रममा सक्रिय र व्यस्त रहँदै आएका राईले थुप्रै अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन्। साथै, उनी चाँडै नै नयाँ गीत सार्वजनिक गर्ने तयारीमा समेत रहेकाछन् ।
उत्कृष्ट गीतहरू श्रोता तथा दर्शकमाझ प्रस्तुत गरेकै कारण गायक राईले म्युजिक खबर म्युजिक अवार्ड–२०८०, जिनियस म्युजिक अवार्ड–२०७९, राप्ती म्युजिक अवार्ड–२०६८, हिमालयन इन्टरनेशनल अवार्ड–२०८२, साधना दशक गायक सम्मान–२०८१ लगायत दर्जनौँ अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन्। गीत–संगीतको माध्यमबाट राष्ट्रको सांगीतिक क्षेत्रमा योगदान दिँदै दर्शकमा प्रेम र राष्ट्रभाव जागृत गराउन सफल भएकोमा आफूलाई सन्तुष्टि मिलेको उनले बताएका छन्।
