प्रा.श्रीराम काफ्ले
प्रमुख रूपमा नेपाली साहित्यको जीवनी, कविता, कथा तथा घोष्ट राइटिङमा सक्रिय साहित्यकार दीपक भेटुवाल नुवाकोट जिल्लाको शिवपुरी क्षेत्रमा जन्मिएका हुन् । वि.सं. २०६० को दशकदेखि निरन्तर साहित्य सिर्जनामा संलग्न भेटुवालले झन्डै एक दर्जनको हाराहारीमा कविता, कथा, समीक्षा, जीवनी तथा अनुसन्धानमूलक कृतिहरू प्रकाशनमा ल्याइसकेका छन् ।
साहित्यिक व्यक्तित्वहरूलाई चिनाउने र तिनको योगदानलाई दस्तावेजीकरण गर्ने कार्यमा विशेष सक्रिय भेटुवालको भद्रकुमारी घले र उनका आयामहरू नामक कृति नेपाली साहित्यमा उल्लेखनीय र सर्वाधिक चर्चित पुस्तकका रूपमा स्थापित भएको छ । नेपाली साहित्य लेखन, स्रष्टा सम्मान र समालोचनात्मक चिन्तनमा सक्रिय भेटुवाल पछिल्लो समय लड्डुको खोज मार्फत बालसाहित्यतर्फ पनि तानिएका छन् ।
औपन्यासिक शैलीमा लेखिएको प्रस्तुत कृति लड्डुको खोजले कल्पना, जीवनदर्शन र नैतिक सन्देशलाई सरल, रोचक र कथात्मक संरचनामा प्रस्तुत गरेको छ । कथावस्तु र मूल अवधारणा लड्डुको खोजी पहाडै पहाडले घेरिएको, कुहिरोले ढाकिएको काल्पनिक गाउँ मानेगाउँबाट सुरु हुन्छ । कथा सानो परिवेशबाट सुरु भएर ठूलो जीवनबोधतर्फ विस्तार हुन्छ ।
सामान्यतः खानाका परिकारका रूपमा बुझिने लड्डुलाई लेखकले जिज्ञासु, संवेदनशील, साहसी र सोच्ने पात्रका रूपमा रूपान्तरण गरेका छन् । बोल्ने, सोच्ने र यात्रा गर्ने लड्डुको कल्पनाले बालपाठकको मनमा तत्कालै उत्सुकता जगाउन सफल हुन्छ । “सानो शरीर, ठूलो मन” भन्ने मूल अवधारणा कथाको आत्मा बनेर उपस्थित भएको छ ।
लड्डुको यात्रामार्फत लेखकले बालबालिकालाई आत्मविश्वास, निरन्तर प्रयास, डरमाथि विजय र लक्ष्यप्रति अडिग रहने सन्देश सहज रूपमा दिएका छन् । लड्डु केवल पात्र मात्र होइन, बालबालिकाको प्रतिनिधि स्वरूप हो—जो जिज्ञासा बोकेर संसार बुझ्न चाहन्छ ।
कथाको संरचना र प्रतीकात्मकता अध्याय एकदेखि अध्याय दससम्म क्रमिक रूपमा फैलिएको कथाको संरचना सन्तुलित र प्रवाहपूर्ण छ । प्रारम्भमा मानेगाउँ र लड्डुको परिचय, त्यसपछि उसको यात्रा, विभिन्न चुनौतीहरू, सहायक पात्रहरूसँगको भेट, सामाजिक संवेदनाले भरिएको “हाँसो हराएको गाउँ” र अन्ततः घर फर्काइ—यी सबै चरणहरूले कथालाई स्पष्ट दिशामा अघि बढाएका छन् ।
बाँदर, नदी र सेतो हात्ती जस्ता पात्रहरू सहायक पात्र मात्र नभएर प्रतीकात्मक शिक्षकका रूपमा प्रस्तुत भएका छन् । नदीले निरन्तरता, धैर्य र समयको अर्थ सिकाउँछ भने सेतो हात्तीले अँध्यारो परिस्थितिमा पनि साहस र आशाको महत्व बुझाउँछ । यस्ता प्रतीकात्मक प्रसङ्गहरूले कथालाई बालसाहित्यको सीमाभन्दा माथि उठाएर दार्शनिक गहिराइ प्रदान गरेका छन् ।
भाषाशैली र प्रस्तुति कृतिको भाषा सरल, बालमैत्री, सहज र बोधगम्य छ । दृश्यात्मक वर्णन, ध्वन्यात्मक शब्दहरूको प्रयोग र संवादात्मक शैलीले कथालाई जीवन्त बनाएको देखिन्छ । बालपाठकले कल्पनामा दृश्यहरू सजिलै निर्माण गर्न सक्ने गरी कथा प्रस्तुत गरिएको छ । यद्यपि केही स्थानमा वाक्य संरचना अलि लामो देखिए पनि समग्र भाषिक प्रवाह स्वाभाविक र आकर्षक छ । सामाजिक सन्देश र समकालीन सन्दर्भ कथाको सामाजिक पक्ष विशेष रूपमा उल्लेखनीय छ । “हाँसो हराएको गाउँ” प्रसङ्गले आधुनिक समाजमा बढ्दै गएको मानसिक थकान, तनाव, व्यस्तता र भावनात्मक दूरीलाई बालस्तरमै संकेत गरेको छ ।
लड्डुले खेल, संवाद र हाँसोमार्फत गाउँलाई पुनः उज्यालो बनाउन गरेको प्रयासले सहानुभूति, सहयोग र सामूहिक खुसीको महत्त्व उजागर गरेको छ । यसले बालबालिकामा सामाजिक उत्तरदायित्व र सकारात्मक सोच विकास गराउने सन्देश दिएको छ । कथाको अन्त्य भागमा लड्डुको घर फर्काइ र चौतारीमा दिइएको सन्देश भावनात्मक उत्कर्षका रूपमा प्रस्तुत भएको छ ।
उपदेशात्मक शैलीभन्दा अनुभव र घटनाका माध्यमबाट प्रस्तुत सन्देशले बालपाठकको मनमा दीर्घकालीन प्रभाव छोड्ने क्षमता राख्दछ । साहस, जिज्ञासा र खुसी नै जीवनका मुख्य शक्ति हुन् भन्ने निष्कर्ष कथाले स्वाभाविक रूपमा स्थापित गरेको छ ।
समग्रमा, “लड्डुको खोज” बालबालिकाका लागि मात्र होइन, अभिभावक, शिक्षक र बालसाहित्यप्रेमी पाठकहरूका लागि पनि उपयोगी, प्रेरणादायी र सन्देशमूलक कृति हो । यसले मनोरञ्जनसँगै जीवन, मूल्य, सामाजिक चेतना र नैतिक शिक्षालाई सफलतापूर्वक प्रस्तुत गरेको छ ।
विद्यालयस्तरका पाठ्यक्रम, पुस्तकालय र पठन संस्कृतिको विकासमा यो कथा उत्कृष्ट सन्दर्भ सामग्री बन्न सक्ने पर्याप्त सम्भावना बोकेको देखिन्छ ।
