काठमाडौँ । काठमाडौँ महानगरका पूर्वप्रमुख तथा कार्यसमिति सदस्य राजाराम श्रेष्ठले नेपालको आँखा उपचारका क्षेत्रमा गौरवमय इतिहास रहेको विशिष्टीकृत सेवा प्रदान गरिरहेको आँखा अस्पताललाई दक्षिण एशियाकै नमुना अस्पतालका रूपमा विकास गर्न आफ्नो तर्फबाट रचनात्मक सहयोगमा कमि हुन नदिने प्रतिबद्धता जाहेर गर्नु भयो ।
पुर्व प्रमुख श्रेष्ठले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूरदराजसम्म र्पुयाउने कुरामा सदैव आफ्नो साथ र समर्थन रहने समेत बताउनु भयो ।
अस्पतालको २१औँ वार्षिक साधारणसभामा आफ्नो मनतव्य राख्दै श्रेष्ठले सो प्रतिबद्धता जाहेर गर्नु भएको हो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले आँखा उपचारमा नयाँ प्रविधि भित्राउँदै गुणस्तरीय सेवा र भौतिक पूर्वाधार विकासमा उत्तिकै ध्यान दिइएको बताउनु भयो । अस्पतालले नियमित सेवाबाहेक शल्यक्रिया शिविर र विद्यालय आँखा कार्यक्रम सञ्चालन तथा मधुमेहबाट आँखासम्बन्धी हुनसक्ने रोग पत्ता लगाई उपचार गर्दै आएको डा.पोखरेलले बताउनु भयो ।
अध्यक्ष पोखरेलले भन्नुभयो “नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञबाट २४ वटा शोधपत्र तयार गरिँदै छ ।”
अस्पतालले गत आर्थिक वर्ष २०८१/८२ मा बहिरंगतर्फ एक लाख ६४ हजार ५७० जनाको आँखा परीक्षण गरेको थियो भने गहन सात हजार ८०४ सहित १० हजार ३९० शल्यक्रिया गरेको जनाएको छ ।
अस्पतालले चालु आर्थिक वर्षमा एक लाख ७७ हजार ५०० लाई बहिरंग सेवा तथा सानाठूला गरी १२ हजार ५३० शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । हाल अस्पतालमा १६ जना नेत्र विशेषज्ञसहित १४१ जना कर्मचारी कार्यरत छन् ।
गैरनाफामूलक सेवामुखी संस्थाका रुपमा ५२ वर्षअघि स्थापित अस्पतालले सरकार र विश्वस्वास्थ्य सङ्गठनको आँखा उपचारको लक्ष्यप्राप्ति गर्न गुणस्तरीय र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्दै आएको छ ।
अस्पतालले राजधानी बाहिर गत आर्थिक वर्षमा १५ वटा आँखाको निःशुल्क शल्यक्रिया शिविर र रु. ३५ लाख बराबरको चस्मा र औषधि उपलब्ध गराएको थियो । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
