धनगढी कैलाली – समाजवादी कम्युनिष्ट पार्टी नेपाल (सेती–महाकाली क्षेत्रीय समिति) ले सुदूरपश्चिम प्रदेशभर सहकारी संस्थाहरुको वास्तविक अवस्था बुझ्ने उद्देश्यसहित व्यापक अनुसन्धान प्रक्रिया सुरु गरेको छ।
अछमको तुर्माखाँद गाउपालिका र हालै पार्टीले धनगढी उपमहानगर पालिका, लम्किचुहाँ नगरपालिका ,जानकी गाउपालिका, टिकापुर नगरपालिका, बर्द्गोरिया गाउपालिका, जोसिपुर गाउपालिका, कैलारि गाउपालिका लगाएत स्थानीय क्षेत्रमा दर्ता भएर सञ्चालनमा रहेका सहकारी संस्थाहरुको विवरण, वार्षिक लेखापरीक्षणको स्थिति तथा सहकारी पीडितसम्बन्धि उजुरीबारे औपचारिक रूपमा सूचना माग गरेको छ।
सूचनाको हक ऐन २०६४ को दफा ७(१) र नेपालको संविधानको धारा २७ बमोजिम पार्टीले माग गरिएको विवरणमा नगरपालिकाभित्र दर्ता भएका कुल सहकारी संख्या, चालु तथा बन्द सहकारीहरुको सूची, लेखापरीक्षण सम्पन्न तथा नसकाएका संस्थाहरुको विवरण, सहकारी ठगी वा आर्थिक दुरुपयोगसम्बन्धी उजुरी दर्ता स्थिति समेत समावेश छन्।
पार्टीका सेती–महाकाली क्षेत्रीय इन्चार्ज तिलक बयक ‘सुर्या’का अनुसार सहकारी क्षेत्रमा बढ्दो अनियमितता र आर्थिक शोषणबारे नागरिकको चासोलाई प्राथमिकता दिँदै अनुसन्धान गरिएको हो। “जनताको पसिना र विश्वासको बचत सहकारीमार्फत सुरक्षित र उपयोगी हुनुपर्ने हो। तर धेरै ठाउँमा ठगी, अनियमितता र दुरुपयोगका गुनासा बढेका छन्। यसैले हामीले तथ्य प्रमाणसहित अध्ययन सुरु गरेका छौं,” बयकले बताए।
उनका अनुसार सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सहकारी पीडितका सम्भावित केस, सरकारी निकायको अनुगमन अवस्था, तयार पारिएका प्रतिवेदन तथा सुधारका सुझावसमेत संकलन गरिनेछ।
पार्टीले सङ्कलित तथ्यांकसमेतका प्रतिवेदन आगामी दिनमा सार्वजनिक गर्दै आवश्यक नीति सुझावसहित सरकार तथा सम्बन्धित निकायमा बुझाउने तयारी गरेको छ।
सहकारी क्षेत्र ग्रामीण अर्थतन्त्रदेखि आम नागरिकको बचत र आर्थिक सम्बन्धसम्म जोडिएको अत्यन्त संवेदनशील क्षेत्र भएकाले यसको पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न यस्तो अनुसन्धानले महत्त्वपूर्ण भूमिका खेल्ने पार्टीको विश्वास छ।
