९ असार २०८२, सोमबार

शिक्षा राष्ट्रकाे मेरुदण्ड हाे, स्टनबाजिले बिद्यार्थी आन्दोलन चल्दैन : सन्ध्या पुन

लेखक : सन्ध्या पुन

शिक्षा राष्ट्रको मेरुदण्ड हो। जब यो संकटमा पर्छ, त्यसको कम्पन केवल कक्षाकोठाभित्र सीमित रहँदैन । समग्र समाजको चेतनामा असर पार्छ। हिजो हामी विद्यार्थीहरू विद्यालयदेखि विश्वविद्यालयसम्म, सडकदेखि संसदद्वारसम्म, निजीकरण र शैक्षिक माफियावादविरुद्ध उठेका थियौं। हाम्रो आन्दोलन शुल्क वृद्धिको विरोध मात्र थिएन, त्यो जनताका छोराछोरीहरूका लागि समान, सर्वसुलभ र न्यायपूर्ण शिक्षाको लडाइँ थियो।

हामीले जनताको पक्षमा बोलेका थियौं, निजी शैक्षिक माफियाविरुद्ध संघर्ष गरेका थियौं। त्यही संघर्षले शिक्षा क्षेत्रमा केही चेतना पैदा गरेको थियो। तर आजको वास्तविकता कस्तो छ? आजको विद्यार्थी आन्दोलन नेतृत्वविहीन, दिशाहीन र जिम्मेवारीविहीन अवस्थामा पुगेको छ।

नेतृत्वको यही अभावका कारण निजी विद्यालयहरू मनपरी शुल्क असुलिरहेका छन्, अभिभावकहरू आफ्नो जीवनको आम्दानी शुल्कको नाममा चुकाइरहेका छन्, तर विद्यार्थी नेताहरू चुप छन्, न प्रतिवाद, न प्रतिरोध। आजका विद्यार्थी नेताहरू बहस, अभियान वा आन्दोलनभन्दा सामाजिक सञ्जालमा ‘डिजिटल स्टार’ बन्न व्यस्त छन्।

शिक्षा व्यापार बनिरहेछ, सरकारी विद्यालयहरू उपेक्षित भइरहेछन्, र नेतृत्व चिया गफमै सीमित छ। के आजको नेतृत्व जनताको पिडा बुझ्न सक्षम छैन, वा बुझेरै नदेखेझैं गरिरहेको हो? यदि बुझेकै हुन् भने मौनता केवल कमजोरी होइन, जनद्रोह हो।

विद्यार्थी आन्दोलनको उद्देश्य केवल पठनपाठन सुधार होइन, समग्र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र वैज्ञानिक बनाउनु हो। तर आजको नेतृत्व पदप्राप्तिमा सीमित छ, नीतिगत हस्तक्षेप गर्ने, नीति निर्माणमा दबाब सिर्जना गर्ने हैसियत देखिँदैन।

अब नेतृत्वले भूमिकाको आत्मनिरीक्षण गर्नुपर्छ, के उनीहरू क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन सकिरहेका छन्? कि केवल पुराना आन्दोलनको छायामा ख्यातिको खेती गर्दै छन्?

हिजो हामीले विद्यालयका गेटहरू बन्द गरेका थियौं, शैक्षिक शुल्कविरुद्ध नाराजुलुस गरेका थियौं, निजी शैक्षिक माफियाको नाम सार्वजनिक गरेका थियौं। आज त्यस्ता कदम हराएका छन्। आन्दोलनको उद्देश्य फोटो, लाइक र शेयरमा सीमित बनाइएको छ।

समय अब फेरि क्रान्तिकारी आत्मा बोकेको नेतृत्वको खाँचो महसुस भइरहेको छ। शिक्षा केवल परीक्षाको विषय होइन । यो वर्गीय संघर्षको एक सशक्त मोर्चा हो। त्यसैले विद्यार्थी नेताहरूले अब जिम्मेवारीको बोध गर्नुपर्छ। केवल गफ गर्ने, लोकप्रियता कमाउने र पद टिकाउने मानसिकताले न त शिक्षा सुधार हुन्छ, न आन्दोलन अगाडि बढ्छ।

नेतृत्व अब निष्क्रियता त्यागेर अग्रसर हुनुपर्छ । शैक्षिक माफियावादको विरुद्ध स्पष्ट दृष्टिकोण, कार्यनीति र अभियान लिएर। जनताको छोराछोरीका पक्षमा शिक्षा क्षेत्रको पुनर्गठन र पुनःसंघर्षको आवश्यकता छ।

जबसम्म नेतृत्व जिम्मेवार हुँदैन, तबसम्म आन्दोलनको उद्देश्य अधुरै रहन्छ। त्यसैले अबको विद्यार्थी आन्दोलन नयाँ सोच, नयाँ कार्यशैली र नयाँ प्रतिबद्धता सहित अघि बढ्नुपर्छ – नेतृत्वहीनताको यो संकट चिर्दै, जनमुखी र परिवर्तनकारी नेतृत्व निर्माण गर्दै।