– माधव घिमिरे ‘अटल’
हाम्रो लघुकथा केन्द्रले आफ्नो पाँचौँ वार्षिक सभा कार्यक्रममा ‘आँखीझ्याल’ र ‘भ्रममार्ग’का सर्जक तथा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ तथा दिलीप राई ‘सगर’लाई अर्पण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै वरिष्ठ नाटककार तथा लघुकथाकार अशेष मल्लले पुरस्कृत श्रीओम श्रेष्ठ ‘रोदन’को मुक्तकण्ठले प्रशंसा गर्दै साहित्यिक संस्थाहरूमा पुस्तान्तरणको समस्या उजागर गरे । उनले कृति किनेर पढ्ने संस्कृति विकास गर्न सबैले सकारात्मक योगदान गर्न आग्रह गरे । साहित्यकारहरू नाटक हेर्न नजाने, गायकहरू साहित्य सुन्न नजाने र चित्रकारहरू सङ्गीत श्रवण नगर्ने परम्परागत सोचमा परिवर्तन आउन जरुरी भएको उनको दाबी थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि प्रा.डा.भरतकुमार भट्टराईले लघुकथा केन्द्रले जीवन्त रूपमा आफ्ना चार गौरवशाली वर्ष व्यतीत गरेकोमा कृतज्ञता ज्ञापन गरे । यो टिम निकै ऊर्जाशील रहेकोले यसलाई निरन्तरता दिन उनले आग्रह गरे भने सम्मानित व्यक्तित्वहरूप्रति आभार पनि व्यक्त गरे ।
त्यसरी नै अर्का विशिष्ट अतिथि डा. विदुर चालिसेले केन्द्र र मोफसललाई जोडेर सम्मान गरेकोमा हाम्रो लघुकथा केन्द्रको सराहना गरे ।नेपाली साहित्य लेखन परम्परालाई विश्व साहित्यसँग तुलना गर्दै यसमा आएको विविधताबारे आफ्नो गहन भनाइ राखे ।
सो सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पुरस्कृत वरिष्ठ साहित्यकार रोदनले फोहोर सम्मान र फोहोर सफा गर्ने सम्मानबीच नितान्त भिन्नता भएको बताउँदै दिउँसो सम्मान गर्ने र राति पार्टी खाने सम्मान वास्तवमा सम्मान नहुने उनको जिकिर थियो ।
त्यसरी नै अर्का पुरस्कृत व्यक्तित्व दिलीप राई ‘सगर’ले आफूलाई पहिलोपटक राजधानीले सम्मान गरेकोमा आभार प्रकट गरे । फेसबुक पेजमा लघुकथा पाठशालाबाट सुरूआत भएको लघुकथा केन्द्रमा विकास हुँदै पाँच वर्ष पूरा भएको अवगत गराउँदै हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता केसीले सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गरिन् ।
लघुकथा केन्द्रकी अध्यक्ष लता के.सी.ले अध्यक्षता गरेको सो स्रष्टा सम्मान तथा पाँचौँ वार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण महानुभावहरूलाई केन्द्रकी कोषाध्यक्ष सत्या अधिकारीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण बिमुन्स पौडेलले गरेकी थिइन् ।