काठमाडौं । पर्साको वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालयभित्रै एकजना मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् ।
बाराको पचरौता नगरपालिका ४ घर भई हाल वीरगञ्ज २४, रामगढवामा बस्दै आएका करिब ६० वर्षीय बृजकिशोर प्रसाद साहले प्रशासन कार्यालयमै आत्मदाहको प्रयास गरेका हुन् । उनले विषादी सेवन गर्नुका साथै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे ।
शरिरमा आगो लगाउन खोज्दा सशस्त्र प्रहरीले रोकेका थिए । एक लाख ५० हजार रुपैयाँ ऋण लिएकामा साहुले ६ लाख मूल्य पर्ने जग्गा हत्याउन खोजेको उनले बताएका छन् । प्रहरीले पनि आफूलाई साथ नदिएको उनको आरोप छ ।
घटनास्थलमा उनले लेखेको पत्र पनि भेटिएको छ । पत्रमा लेखिएको छ, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरूको नाममा पास गरेको थिएँ । तर, जब मैले पैसा तिर्न खोजेँ, पीडकले जग्गा फिर्ता गर्न आनाकानी गरिरहेको छ । प्रहरी पनि उनकै पक्षमा देखिएको छ । त्यसैले आत्मदाहको बाटो रोज्न बाध्य भएँ ।’
उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ ।