१५ फाल्गुन २०८१, बिहीबार

६ महिनापछि नेप्से २८ सय माथि, वृद्धितर्फ डाेर्‍याउँदै वाणिज्य बैंक

काठमाडौं ।  ६ महिनापछि नेप्से परिसूचक २८ सय विन्दु माथि आइपुगेको छ। गत भदौ १७ गते बजार बन्द हुँदा २८३० मा रहेको नेप्से त्यसपछि पहिलो पटक २८ सय पार गरेको हो।

 

बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक २८१५ मा आइपुगेको छ। नेप्से परिसूचक मात्रै होइन कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ९ अर्ब ९० करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब ३९ करोड रूपैयाँको सेयर कारोबार भएको हो।

 

पछिल्लो केही समययता कारोबार रकममा उच्चले सुधार देखिन थालेको छ। वाणिज्य बैंकहरूको मूल्यमा समेत सुधार हुन थालेपछि बजार बढ्न थालेको हो। यो समूहको मात्रै ५० प्रतिशतभन्दा धेरै बजार हिस्सा छ।

 

सामान्यता फागुन अन्त्यदेखि बजार बढ्ने प्रवृत्ति देखिने भएकोले पनि बजारमा सुधार हुँदै जान थालेको मानिएको हो।

 

चैत अन्त्यपछि आउने कम्पनीहरूको वित्तीय विवरणको आधारमा वार्षिक नाफाको अड्कल गर्न सकिन्छ। सोही कारण त्यसपछि बजारमा सेयर मूल्य बढ्ने अनुमान गरेर फागुनदेखि नै लगानीकर्ताहरूले सेयरमा लगानी गर्छन्। यसले बजार बढ्दै जान्छ।

 

अहिले निकै लामो समय बजार न्यून बिन्दुमा रहेकोले पनि बजार बढ्ने सम्भावना देखिएको हो। निकै समय निश्चित बिन्दुमा रहेर साइडवेज मुभमेन्टमा देखिएको नेप्से परिसूचकले बढेर यो प्रवृत्ति अन्त्य गर्न लागेकोले पनि बजार थप बढ्ने आँकलन गर्न थालिएको छ।

हालै नेप्सेले ‘कप विथ ह्याण्डल’ आकृति बनाएर बढ्ने क्रममा देखिएको थियो।  यस्तो आकृति पूरा भएपछि बजार केही बढेमा नयाँ उचाइ बनाउन सक्ने विश्लेषण गरिन्छ।

कप आकृतिको गहिराई कति छ, त्यति नै अंकले  बजार बढ्न सक्ने विश्लेषण गरिन्छ। हालै २७९५ मा उच्च र २५४५ को न्यून विन्दु बनाएको नेप्सेको कपको गहिराई दुई सय ५० अंक रहेको थियो।

 

 

ब्रेकआउट विन्दु २७६४ पार गरेमा तीन हजार १४ विन्दु भेट्न सक्ने सो विश्लेषणले देखाएको थियो।

बिहीबार कारोबारमा आएका सवै समूहगत परिसूचकमा सुधार भएको छ। चार कम्पनीको मूल्य बढेर सर्किट ब्रेक लागेको छ। यसरी सर्किट ब्रेक लाग्नेमा गार्जियन माइक्रोलाइफ, अप्पर हेवा खोला, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत् रहेका छन्।

यस दिन तीन सय वटाको सेयर कारोबार भएकोमा दुई सय १५ वटा कम्पनीको मुल्य बढेको छ भने ७१ वटाको मूल्य घटेको छ।