९ फाल्गुन २०८१, शुक्रबार

शैक्षिक अधिकारका निम्ति अखिल क्रान्तिकारीले गर्‍याे आन्दोलनको घाेषणा

काठमाडौं ; समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन -अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी केन्द्रीय समितिले शैक्षिक एवम् मौलिक अधिकारका पक्षमा आन्दोलनमा उत्रने भएको छ ।

वर्तमान अवस्थामा शैक्षिक एवं मौलिक हकहरु कमजोर हुंदै गएकाले आफ्ना अधिकारहरु सुनिश्चित गर्न दृढतापूर्वक संघर्षमा लाग्न संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले एक विज्ञप्ती जारी गर्दै युवा विद्यार्थीलाई आह्वान गरेका छन् ।

विज्ञप्तिकाे पुर्ण पाठ उस्तो छ –

गौरवपूर्ण इतिहास बोकेको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) अविचलित रूपमा हरेक न्याय प्राप्तिका लागि सङ्घर्षरत रहेको सर्वविदितै छ । नवऔपवेशिक पूँजीवादी दलाल संसदीय व्यवस्थाले राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि कहालीलाग्दा घटनाहरू थोपरिरहेको छ । आम नागरिकहरूका मौलिक हकहरूलाई निमोठ्दै आज हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, लुटपाट, छुवाछूत, बेरो जगारी, अभाव–भोकमरी, गरिबी जस्ता जघन्य अपराधहरूको जालो चरम रूपमा फैलाइरहेको छ ।

आफैं सरकार सम्बद्ध सार्वजनिक संस्थाहरू नै आज राष्ट्रघात, जनघात र भ्रष्टाचार गर्न उद्यत छन् । पछिल्लो समय देशका विभिन्न स्थानहरूमा भारतीय पक्षद्वारा सीमा अतिक्रमण तथा सीमाबासीमाथि गुण्डागर्दी, हत्या र दमन, सार्वजनिक तथा गौरवपूर्ण संस्थाहरूमा चरम भ्रष्टाचार र लुटपाट, देशका अति महत्वपूर्ण जल, जङ्गल र जमिनको दोहन र विनाश, कानुनी राज्यको हवाला दिँदै गुन्डागर्दी, जनदमन र हत्या, नागरिकहरूका मौलिक अधिकारहरूमाथि दमन, युवा विद्यार्थीहरूमाथि चरम गुन्डागर्दी, शोषण, दमन, यातना, बलात्कारजस्ता जघन्य अपराधहरूले चुली नाघिसकेको छ ।

यसै सन्दर्भमा १) तनहुँ जिल्लाको भिमाद नगरपालिका ६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका लेखापाल ३४ वर्षीया सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्ययनरत तीनजना विद्यार्थीलाई पन्यु तताई आफ्नै छोरीमार्फत गालामा डाम्न लगाएको पीडादायी, अक्षम्य यातना, २) त्रिभुवन विश्वविद्यालय समितिले शैक्षिक धरोहरको केन्द्रका रूपमा रहेको त्रिभुवन विश्वविद्यालयको परिसरमा प्रहरी कार्यालय स्थापना गरी विद्यार्थीमाथि मानसिक एवम् प्रशासनिक दादागिरी गर्न उद्यत रहेको, ३) धनुषाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच विद्यालय परिसरमा पेसीका लागि भन्दै विद्यालय क्षेत्र नै बदनाम र अशान्त हुने गरिएको लडाइँ र झैझगडा, ४) सीटीईभीटीका बोर्ड सदस्य इन्जिनियर शैलेन्द्रमोहन झाले ललितपुरको बागडोलमा सञ्चालन गरेको एक्मी कलेज अफ इन्जिनियरिङमा विद्यार्थीहरूको भविष्य नै बिचल्ली हुने गरी गरिएको खेलबाड र लापरबाही, ५) कैलालीको धनगढीमा स्कुलबाट घर फर्किंदै गरेकी १४ वर्षीया छात्रामाथि बलात्कार, ६) गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा रहेको देउराली माध्यमिक विद्यालयमा ’नक्कली शिक्षक’ का नाममा लिइएको तलबभत्ता, ७) जाजरकोट जिल्लाको छेडागाड १० नल्फु स्थायी घर भएकी भक्तपुर जिल्लामा अस्थायी बसाइ गर्ने पञ्चकन्या माध्यमिक विद्यालय सुडाल भक्तपुरमा कक्षा ८ मा अध्ययनरत बालिका गत माघ २७ गतेदेखि बेपत्ता, ८) विश्वविद्यालयदेखि विद्यालय सम्म र चिकित्सा शिक्षा आयोजक ऋतभखत सम्मको बेथिति, अराजकता र भ्रष्टाचार, ९) रामेछाप जिल्लाको मन्थली नपा १ स्थित मन्थली माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको उपस्थितिमा व्यवस्थापन समिति सदस्यले एक शिक्षकलाई कुटेर घाइते बनाएको लगायत हजारौं घटनाले देशका विभिन्न ठाउँमा जनसमुदायलाई पीडित र आक्रान्त पारेको छ, अशान्ति मच्चाइरहेको छ। नागरिकमाथि नै अघोषित युद्ध चलाइरहेको छ । यस्ता जघन्य आपराधिक कार्यहरू तुरुन्तै बन्द गर्न, दोषीहरूमाथि सख्त कारबाही गर्न र सच्चिन सम्बन्धित पक्षलाई चेतावनी दिन्छौँ। अन्यथा हाम्रो सङ्गठन जस्तोसुकै प्रतिवाद गर्न बाध्य हुनेछ । साथै आफ्नो शैक्षिक एवम् मौलिक अधिकारका पक्षमा दृढतापूर्वक सङ्घर्षमा होमिन युवा विद्यार्थीहरूलाई हार्दिक आह्वानसमेत गर्दछौँ।
हार्दिक अभिवादनसहित !

विज्ञप्ति जस्ताको त्यस्तै –